सामाजिक सुरक्षा योजना शुभारम्भ : मजदुरले मनाए खुसियाली (फोटोफिचर)

 मंसिर ११, २०७५ मंगलबार १९:४७:२३ | प्रताप बानियाँ

म्याग्दी – सरकारले आजदेखि योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको शुभारम्भ गरेपछि म्याग्दीका मजदुरहरुले खुसियाली मनाएका छन् ।

निजी क्षेत्रमा कार्यरत श्रमिक तथा मजदुरहरुलाई लक्षित गरेर ल्याइएको सामाजिक सुरक्षा योजनाको म्याग्दीमा कार्यरत मजदुरले मैनबत्ती प्रज्ज्वलन गरेर स्वागत गरेका हुन् ।

सदरमुकाम बेनी बजारमा रहेको क्याम्पस चोकमा जम्मा भएका मजदुरहरुले ‘योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७५–८–११ को स्वागत गर्दछौँ’ भन्ने लेखेर मैनबत्ती प्रज्ज्वलन गरेका थिए । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) र क्युपेक म्याग्दीको अगुवाइमा सामाजिक सुरक्षा योजनाको स्वागत कार्यक्रम गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिफन्टका जिल्ला अध्यक्ष बलादेवी राईले मजदुरहरुको तर्फबाट सामाजिक सुरक्षा ऐन ल्याउन ठूलो संघर्ष गरिएको बताउनुभयो । उहाँले सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन ल्याएर मजदुरहरुको हित गरेको बताउँदै अझै पनि सङ्गठित क्षेत्रबाहेक अन्यत्र धेरै मजदुरहरु समस्यामा रहेकाले सामाजिक सुरक्षा ऐन प्रभावकारी रुपमा कार्यान्वयन हुनुपर्ने माग गर्नुभयो ।

यसअघि सरकारी सेवामा रहेकाले मात्र पेन्सन वा उपदान पाउने भए पनि अन्य श्रमिकले यस्तो सेवा पाउनबाट बन्चित हुँदै आएका थिए । अब भने निजी क्षेत्रमा कार्यरत श्रमिकले पनि सामाजिक सुरक्षा भक्ता पाउने व्यवस्था ल्याइएको हो । सरकारले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले अब यो व्यवस्था गरेको हो ।

सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिमा वृद्ध अवस्था सुरक्षा योजनाका लागि रोजगारदाताले श्रमिकको न्यूनतम पारिश्रमिकबाट निश्चित प्रतिशत जम्मा गरिदिने र व्यक्ति स्वयंले पनि योगदान गरेको रकमबाट पेन्सन या उपदान लिनसक्ने व्यवस्था गरिएको छ । पेन्सन योजना आउँदो २०७६ साल साउन एक गतेपछि मात्रै लागू हुनेछ । 


 

अन्तिम अपडेट: चैत ७, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया