चलचित्र दालभात तरकारीको गीतमा निशान भट्टराई र अन्जु पन्तको स्वर

 मंसिर १२, २०७५ बुधबार १२:२६:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

कलाकार किरण केसी र मह संचारले संयुक्त रुपमा निर्माण गर्न लागेको चलचित्र दालभात तरकारीको यतिबेला छायांकन भइरहेको छ । चलचित्रको क्लाइमेक्सको छायांकन लगभग सम्पन्न भएको निर्माता किरण केसीले बताए । अहिलेसम्ममा चलचित्रको करिब १५ प्रतिशत छायांकन सम्पन्न भएको बताइएको छ । 

चलचित्रमा समावेश एउटा गीतको छायांकनको तायारी भइरहेको निर्माता केसीको भनाइ छ । मिना निरौलाको स्वरमा रहेको यो गीत १५ गतेबाट छायांकन सुरु हुँदैछ । चितवनमा छायांकन गर्न लागिएको गीतमा नायिका प्रियंका कार्कीलाई फिचर गरिने बताइएको छ । गीतमा कविराज गहतराजको कोरियोग्राफी रहने छ ।

चलचित्रमा समावेश अर्को गीतको पनि यतिबेला रेकर्डिङ कार्य भइरहेको छ । हरिवंश आचार्यको शब्द रहेको यो गीतमा शम्भुजित बास्कोटाको संगीत रहने छ । गीतमा स्वर भने निशान भट्टराई र अन्जु पन्तको रहने बताइएको छ । गीतमा रिकेश गुरुङको संगीत संयोजन रहने छ भने श्यामश्वेतको सम्पादन रहने बताइएको छ ।

चलचित्र २०७६ को वैशाख १३ गतेदेखि प्रदर्शनमाआउने बताइएको छ । रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंसाकार, शिवहरि पौडेल, राजाराम पौडेल, दीर्घ गुरुङ, अनुरागमान सिंह कुँवर, शिशिर वाङ्देल, विल्सन विक्रम राई, दीपेन्द्र खनियाँ र सुमित मैनाली चलचित्रका निर्माता हुन् ।

चलचित्रमा हरिवंश आचार्य, मदन कृष्ण श्रेष्ठ, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल, सन्दीप क्षेत्री, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर वाङ्देल, विल्सन विक्रम राई, सुरेन्द्र केसीलगायतका कलाकारको अभिनय रहेको छ ।

–उज्यालाे र गफगाफ डटकमकाे सहकार्य 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया