ट्रोलर्सले अर्जुन कपूरकी बहिनी अंशुलालाई बलात्कारको धम्की दिएपछि...

 मंसिर १२, २०७५ बुधबार १४:९:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेत्री जान्हवी कपूरले मंगलबार एउटा कार्यक्रममा कुराकानीको क्रममा उनकी दिदी अंशुला कपूरलाई सामाजिक सञ्जाल मार्फत बलात्कारको धम्की आइरहेको खुलासा गरेकी छिन् । केही दिनअघि उनी दाई अर्जुन कपूरका साथ करण जोहरको टेलिभिजन शो ‘कफि विद करण’ मा सहभागी भएकी थिइन् । 

उक्त शो मा एक गेम जित्नका लागि जान्हवीले अंशुलालाई फोन गरेकी थिइन् । तर अंशुलाले जान्हवीलाई सहयोग गर्न नसक्दा अर्जुन कपूरले उक्त गेम जितेका थिए । 

उक्त शो को त्यो क्लिप सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले त्यस भिडियोमा आफ्ना विचारहरु राख्न सुरु गरे ।

साथै अंशुलाले उनी अर्जुन कपूरकी बहिनी हुन् भन्ने कुरा सावित गरेको र उनलाई जान्हवी कपूरको माया भएको भए जिताउनका लागि सहयोग गर्थिन् भन्दै कमेन्ट गर्न थाले । केही व्यक्तिले त अंशुलालाई जान्हवी कपूरलाई सहयोग नगरेको भन्दै बलात्कारको धम्की पनि दिएका छन् ।  

बहिनी अंशुलालाई यस किसिमको धम्कीहरु आउन थालेपछि अभिनेता अर्जुन कपूरले उनको ट्विटर मार्फत ति व्यक्तिहरुमाथि आफ्नो रिस पोखेका छन् ।

जुर्नले लेखेका छन्, ‘कफि विद करणमा जे भयो त्यसमा अंशुलालाई दोष दिनु र उनलाई जे जति खराब कुरा भनिँदैछ, त्यो सरासर गलत हो । मेरी बहिनीलाई लिएर जे जति कुरा भयो अब मलाई कुनै पनि किसिमको मर्यादाको चिन्ता छैन ।  धिक्कार छ ति ट्रोलर्सलार्ई, जसले मेरी बहिनीलाई चोट पु¥याउने कोशिश गरिरहेका छन् । म आशा गर्छु कि तपाईंहरुकी आमा र दीदी बहिनीहरुले यस कुराको सामना गरेका छैनन् । जुन किसिमको धम्की अहिले तपार्इं मेरी बहिनीलाई दिइरहनुभएको छ ।’  

अभिनेत्री जान्हवी कपूरले पनि ‘कफि विद करण’ मा भएको उक्त कुराबारे स्पष्टीकरण दिँदै मिडियाको अगाडि भनिन्, ‘अंशुला फोनमा मेरो कुरा नबुझेर दुविधामा परेकी थिइन् । उनी के गर्ने भन्ने कुरा थाहा पाइरहेकी थिइनन् । यही कारण उनले मलाई सहयोग गर्न सकिनन् ।’ 

अर्जुनका बुवा बोनी कपूरले श्रीदेवीसँग दोस्रो विवाह गरेपछि अर्जुन कपूर आमा र बहिनीसँग छुट्टै बस्दै आइरहेका थिए । आमाको निधनपछि अर्जुनले अंशुलाप्रति आमा र बुवा दुवैको जिम्मेवारी निर्वाह गर्दै आएका थिए । तर सौतेनी आमा श्रीदेवीको मृत्युपछि अर्जुनले श्रीदेवीका छोरीहरु जान्हवी र खुशीलाई पनि अंशुलालाई झंै माया र साथ दिँदै आइरहेका छन् । 
 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया