दश वर्षे द्वन्द्वपछि चैनपुरे करुवा उत्पादनमा कमी, माग धान्नै मुस्किल !

 मंसिर १२, २०७५ बुधबार १४:४२:२३ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा — पूर्वी पहाडी जिल्ला संखुवासभाको चैनपुरमा उत्पादन हुने चैनपुरे करुवाको उत्पादन कम हुँदा माग धान्नै मुस्किल पर्न थालेको छ ।

चैनपुरे करुवाले जति लोकप्रियता कमायो त्यति नै माग बढ्यो तर पछिल्लो समय कामदारसँगै कच्चा पदार्थको अभावका कारणले गर्दा माग धान्नै मुस्किल परेको चैनपुरका स्थानीय व्यावसायी देबेन्द्र शाक्यले बताउनुभयो ।

उहाँको अनुसार माग धेरै आउँछ तर माग बमोजिम करुवा उत्पादन नै गर्न नसकिने अवस्था छ । हातले बनाउनु पर्ने हुँदा आधुनिक प्रविधि अभावका कारण यो चैनपुरे करुवा उत्पादन संकटमा पर्न थालेको उहाँको भनाई छ ।

काठमाडौं नागवहालबाट झण्डै डेढ शताब्दी पहिले केही शाक्य परिवार संखुवासभाको चैनपुर आएर बसेसँगै चैनपुरमा करुवाको उत्पादन सुरु भएको स्थानीय बुढापाकाहरुको भनाई छ ।

परम्परागत शैली र सीपको प्रयोग गरी काँसको धातुबाट बनाइने यो करुवाको प्रयोग सामान्यतयाः पानी पिउनका लागि मात्र प्रयोग हुने गरेको थियो । तर कलात्मक शैलीमा निर्माण गरिएको यहाँको करुवा पानी पिउनका लागि मात्र प्रयोग नभई घरमा सजावटको लागि पनि प्रयोग हुन थालेपछि अहिले यसको माग उच्च भएको नेपाल बार एसोसियसन संखुवासभाका अध्यक्ष तथा स्थानीय उमेश शाक्यले बताउनुभयो ।

उहाँको अनुसार झण्डै एक दशकदेखि चैनपुर पुग्ने पाहुना र अतिथिलाई बिदाईको क्षणमा संखुवासभाको चिनो स्वरुप कोसेली चैनपुरे करुवा दिने परम्परा नै बसेको छ । तर आजभोलि चैनपुर करुवा पाउन नै मुस्किल पर्न थालेको शाक्यको भनाई छ ।

‘दुई दशक अघिसम्म तीन दर्जनभन्दा बढी करुवा उत्पादक रहेको चैनपुर क्षेत्रमा कामदार र कच्चा पदार्थ अभावका कारण अहिले भने उत्पादन आधा दर्जनमा सिमित भएको छ । माग अनुसारको उत्पादन गर्न नसक्दा माग धान्न नै मुस्किल हुने गरेको छ’, शाक्यले भन्नुभयो ।

चैनपुरे करुवा देशमा चलेको दश वर्षे द्वन्द्व तथा पछिल्लो पुस्ताले वास्ता नगर्दा थलिएको सरोकारवालाहरुको भनाई छ । करुवा उत्पादनका लागि सखुवाको काठको गोल चाहिन्छ तर द्वन्द्व ताका त्यो उत्पादन सम्भव भएन ।

त्यसैमाथि गोल उत्पादनका लागि विभिन्न सामुदायिक वनहरुबाट गर्नुपर्ने झन्झटिलो प्रकृयाका कारण पनि यो व्यवसाय थप संकटमा परेको स्थानीय बुद्धिजिवी पदम शाक्यले बताउनुभयो ।

उहाँका अनुसार कालीगढ अभाव, अदक्ष कामदारको रुपमा प्रयोग हुने कारण समस्या थपिएको हो । चैनपुरे करुवालाई पहिलेकै अवस्थामा फर्काउन कच्चा पदार्थको सहजता, प्रविधि र सीपको विकास गर्न तर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।

पछिल्लो समय आधुनिक प्रविधिबाट एकै पटकमा हजारौं करुवा निर्माण हुने प्रविधि भित्रिए पनि हातबाट बनाइने चैनपुरे करुवामा जस्तो सृजनात्मक सीप समेटिएको हुँदैन । त्यसैले आजसम्म पनि स्थानीय चैनपुरे करुवाको माग उत्तिकै रहेको उहाँको भनाई छ ।

चैनपुर करुवाको उत्पादन बढाउनमा दक्ष जनशक्ति बढाउन पर्ने र आवश्यक कच्चा पदार्थ संकलन गर्नका लागि सामुदायिक वनले सहजता अपनाउनु पर्ने स्थानीयहरुको भनाई छ । 

स्थानीय सरकारले समेत संखुवासभाको शानको रुपमा चिनिएको चैनपुरे करुवाको उत्पादन बढाउनका लागि तत्परता देखाउन आवश्यक देखिएको सरोकारवालाहरुको भनाई छ ।

संखुवासभा आइपुग्ने जो कोहीलाई पनि फर्कने बेलामा जिल्लाको कोसेली स्वरुप चैनपुरे करुवा दिने गरेको पाइन्छ । उत्कृष्ट डिजाइन भएकाले हेर्दा राम्रो देखिने भएकाले जोकोही चैनपुरे करुवाले लोभ्याउँछ ।

एक शताब्दी अघिदेखि ख्याति कमाउँदै आएको चैनपुरे करुवाको शान यतिबेला भने अस्ताउँदो अवस्थामा पुगेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । त्यसैले बेलैमा सरोकारवालाहरुको यसको संरक्षण र सम्बद्र्धन ध्यान दिनु आवश्यक देखिन्छ ।
 
 

अन्तिम अपडेट: चैत १५, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया