राजधानी र नामको विवादले प्रदेश तीनको प्रदेशसभा बैठक स्थगित

 मंसिर १२, २०७५ बुधबार १४:५३:१४ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – तीन नम्बर प्रदेशको प्रदेशसभाको बैठक फेरि अनिश्चित कालका लागि स्थगित भएको छ । 

सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित गर्नुभएको हो । विशेषगरी यस प्रदेशको राजधानीको विषय र नामाकरणको विषयमा सहमति जुट्न नसकेपछि पाँचवटा विधेयक पास गरेपछि बैठक स्थगित गरिएको सभामुख सानुकुमार श्रेष्ठले बताउनुभयो । 

४९ दिनपछि मंसिर १० गतेबाट सुरु भएको प्रदेशसभा बैठक हिजोसम्म दुई दिनका लागि चलेर स्थगित गरिएको हो । यस प्रदेशका सांसदहरुले राजधानीको विषय र नामाकरणको विषय छिटो टुङ्ग्याउनका लागि माग गरेका छन् । तर अहिले तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल पनि कतार भ्रमणमा रहेको र नेकपाको केन्द्रीय नेतृत्वबाट पनि राजधानीको विषयमा के गर्ने भन्ने सर्कुलर नआएकाले प्रदेशसभा बैठक समेत अनिश्चित बनेको हो । 

तीन नम्बर प्रदेशसभाको हिजोकोे बैठकबाट पाँच वटा विधेयक पास भएका छन् । मन्त्रिपरिषद बैठकले निणय गरेर संसदमा पठाएका पाँचवटा विधेयकहरु डेढ महिनादेखि संसद बैठक नचल्दा पास हुन सकेको थिएन । आजको प्रदेशसभाको वैठकबाट आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पेस गरेको ‘प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक’ र ‘प्रदेश संंस्था दर्तासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’को प्रतिवेदनसहित सभाबाट पास भएको छ ।

यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयको ‘प्रदेश कार्य सञ्चालन कोष–२०७५ विधेयक’ पनि प्रतिवेदनसहित प्रदेशसभाबाट पास भएको छ । आजकै वैठकमा सामाजिक विकास मन्त्रालयको ‘प्रदेश खेलकुद विकास गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पनि प्रदेशसभाबाट पास भएको छ । यस्तै आजै ‘प्रदेश प्राविधिक शिक्षा व्यवस्थापन गर्न बनेको विधेयक’ पनि पास भएको छ । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया