सबै दृष्टिकोणले हेटौंडा प्रदेश तीनको राजधानी उपयुक्त : कमल थापा

 मंसिर १२, २०७५ बुधबार १५:५९:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सबै दृष्टिकोणबाट हेटौंडा प्रदेश नं. ३ को स्थायी राजधानीको निमित्त उपयुक्त भएकोले राप्रपाको पूर्ण रुपमा साथ र समर्थन रहने बताउनु भएको छ । 

राजनीतिक तहमा कुनै विवाद गरिरहनु आवश्यक नरहेको भन्दै अध्यक्ष थापाले सबै दलहरुलाई सहमति र विश्वासमा लिएर हेटौंडालाई स्थायी राजधानी बनाउनुपर्नेमा जोड दिनुभयो ।

मकवानपुरे समाजको एक प्रतिनिधिमण्डलले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै थापाले हेटौंडा भौगोलिक, भौतिक एवं हावापानीको दृष्टिकोणले समेत उपयुक्त भएको दावी गर्नुभयो । बन्दै गरेको फास्ट ट्रयाक, धरान–चतरा राजमार्ग, हेटौंडा–काठमाडौं सुरुङ मार्गका कारण हेटौंडालाई सबैतिरबाट जोडिने भन्दै भविष्यको निमित्त हेटौंडा अत्यन्त सम्भावना बोकेको स्थान हुने समेत उहाँले बताउनुभयो ।

हेटौंडालाई राजधानी बनाउन सबै राजनीतिक दलका शीर्ष तहका नेताहरु सकारात्मक भएको आफूले महसुस गरेको भन्दै मकवानपुरे समाजको चासो र चिन्ताको निमित्त थापाले धन्यवादसमेत दिनुभयो । राजनीतिक वाद तथा आग्रह, पूर्वाग्रहबाट माथि उठेर सबैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता समेत थापाले औंल्याए ।

हेटौंडालाई प्रदेश राजधानी बनाउन तत्कालीन समयमा आफूले खेलेको भूमिका आफ्नो कर्तव्य र जिम्मेवारी भएको भन्दै थापाले सबै दलहरुले हेटौंडालाई राजधानी बनाउन सघाउ पुर्‍याउनुपर्नेमा जोड दिनुभयो ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया