भूकम्प प्रभावितलाई तत्काल ५० हजार रुपैयाँ थप अनुदान दिन विकास समितिको निर्देशन

 मंसिर १२, २०७५ बुधबार १७:२५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – संसदको विकास समितिले जोखिमयुक्त समूहमा परेका भूकम्प प्रभावितलाई तत्कालै ५० हजार रुपैयाँ थप अनुदान दिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिएको छ । 

आज बसेको बैठकले जोखिमयुक्त समूहमा परेका भूकम्प प्रभावितलाई तत्कालै ५० हजार रुपैयाँ अनुदान दिन र पुनर्निर्माणको समग्र कामलाई तीव्रता दिन प्राधिकरणलाई निर्देशन दिएको हो । यस्तै भूमिहीन सुकुम्बासी र पर्ती जग्गामा बसेकाहरुको घरको पुनर्निर्माण नभएको र अनुदान लिन पनि समस्या भएको भन्दै उनीहरुलाई पनि छिटो अनुदान पाउने व्यवस्था गर्न समितिले निर्देशन दिएको छ ।

यस्तै भूकम्पका कारण अङ्गभङ्ग भएका,  एकल परिवार, घरबारविहीन तथा बालबालिकाहरुका लागि आर्थिक तथा सामाजिक पुन:स्थापनाका काम गर्न ढिलाई भएको भन्दै शिघ्र कार्यविधि बनाएर काम गर्न पनि समितिले प्राधिकरणलाई निर्देशन दिएको छ । 

समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पछिल्लो समय पुनर्निर्माणको कामले गति लिएकाले  यसै आर्थिक वर्षभित्रै निजी आवास पुनर्निर्माणको काम सक्ने दावी गर्नुभयो । 

ज्ञवालीले सम्झौता गरेकामध्ये ७७ प्रतिशत अर्थात ७ लाख २७ हजार १ सय २३ परिवारले पुनर्निर्माण सम्पन्न गरेकोमा ४३ प्रतिशतले घर निर्माण सम्पन्न गरेको पनि जानकारी दिनुभयो । उहाँले गुनासो सुनुवाइ, एकीकृत बस्ती, परम्परागत बस्ती, बस्ती स्थानान्तरण  र जोखिममा परेका वर्गको घर निर्माणको समयावधि भने कार्यकारी समितिले निर्धारण गरे अनुसार हुने बताउनुभयो । 

शिक्षा, स्वास्थ्य, सरकारी भवन, सुरक्षा निकायका भवन, सम्पदाहरु पुनर्निर्माणमा भएको प्रगति विवरण पेस गर्दै  उहाँले प्राधिकरणको बाँकी अवधि दुई वर्षमा पुनर्निर्माणका सबै काम सम्पन्न हुने बताउनुभयो । बैठकमा सांसदहरु जिपछिरङ लामा, गौरीशंकर चौधरी, गणेश पहाडी, केदार सिग्देल, यज्ञराज सुनुवार, रामबहादुर विष्ट, विनाकुमारी श्रेष्ठ, महेन्द्रराय यादव, अनिल झालगायतले सुझाव दिनु भएको थियो

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया