फाल्गुनन्द गोल्डकप पुष २१ गतेदेखि सञ्चालन हुने

 मंसिर १२, २०७५ बुधबार १७:४४:४६ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – १६ औँ राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको सम्झाना पाँचथरको सदरमुकाम फिदिममा १० वर्षदेखि सञ्चालन हुँदै आएको आमन्त्रित फाल्गुनन्द गोल्डकप फुटबल  प्रतियोगिताको १० औँ संस्करण आउँदो पुष २१ गते देखि  सञ्चालन हुने भएको छ ।

गोल्डकप पुष २१ देखि ३० गतेसम्म स्थानीय फिदिम माविको खेलमैदानमा सञ्चालन हुने आयोजक फिदिम स्पाेर्टिङ क्लबले वुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

अघिल्लो संस्करणसम्म फिदिम स्पाेर्टिङ क्लबले मात्रै आयोजना गर्दै आएको प्रतियोगिता यस वर्ष भने पाँचथर जिल्ला फुटबल संघसँगको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन हुनेछ । 

प्रतियोगिताको विजेता टिमले आकर्षक ट्रफीसहित नगद ४ लाख रुपैयाँ प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले २ लाख पाउनेछ । यस्तै विधागततर्फ बेस्ट गोलकिपर, बेस्ट डिफेन्डर, बेस्ट मिडफिल्डर, बेस्ट फरवार्ड, उदीयमान खेलाडी र प्रत्येक खेलको म्यान अफ् द म्याचलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । बेस्ट कोच र सर्वाधिक गोलकर्ताले नगद १५ हजार रुपैयाँ पाउनेछन्  ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा मोटरसाइकल पाउनेछन् । रुस्लानको मुख्य प्रायोजन रहने प्रतियोगिताको अनुमानित लागत ५२ लाख ७२ हजार पाँच सय ८० रुपैँया रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । 

प्रतियोगितामा हिमालयन शेर्पा क्लब काठमाडौं, सशस्त्र प्रहरीको एपीएफ क्लब काठमाडौं, त्रिभुवन आर्मी क्लब काठमाडौं, ब्वाइज युनियन क्लब काठमाडौं, जावलाखेल युथ क्लब ललितपुर, सुनसरी–११, मोरङ–११, झापा–११, कर्णसिंह सोनाम मेमोरियल क्लब ताप्लेजुङ र आयोजक फिदिम स्पाेर्टिङ क्लब पाँचथर गरी १० टोलीको सहभागिता रहने आयोजक फिदिम स्र्पाेटिङ क्लबका अध्यक्ष विमलकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया