श्रम स्वीकृतिको लागि टोकन प्रणाली सुरु हुँदै

 मंसिर १२, २०७५ बुधबार १८:२८:४८ | उज्यालो सहकर्मी

काठमाडौं – तपाईंलाई वैदेशिक रोजगारीको सिलसिलामा श्रम स्वीकृति, पुनः श्रम स्वीकृति या वैधानिकताको कागजपत्र बनाउनु परेको छ ? त्यसका लागि अब तपाईँले अनलाइन टोकन प्रणालीमार्फत पहिले नै समय लिनु पर्ने भएको छ । 

वैदेशिक रोजगार कार्यालय ताहचलले श्रम स्वीकृति प्रक्रियालाई व्यवस्थित बनाउन मंसिर १६ गतेदेखि टोकन प्रणाली शुरु गर्ने भएको हो ।

टोकन प्रणाली अनुसार नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र कागजात प्रमाणिकरण गरिनेछ । वैदेशिक रोजगार विभागको एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस) बाट प्राप्त निवेदनमा उल्लेख भएको टोकन नम्बरका आधारमा तोकिएको मिति र समयमा मात्र काम हुने विभागले जनाएको छ । 

रोजगार कार्यालयमा व्यवस्थित प्रणाली नहुँदा विदेश जाने युवाले सास्ती खेप्दै आएका छन् । श्रम स्वीकृति लिनकै लागि अघिल्लो दिनदेखि लाइनमा बस्नुपर्ने बाध्यता छ । 
सेवाग्राहीको चापलाई मध्यनजर गर्दै कार्यालय शनिबार खोलेर भए पनि सेवा दिँदै आएको कार्यालयले अबदेखि टोकन प्रणालीको आधारमा काम सुरु गर्न लागेको हो ।
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया