यस्ता छन् कराेडाैं खर्चेर सरकारले किन्न लागेका भनिएका गाडीहरु

 मंसिर १२, २०७५ बुधबार १९:१८:७ | रासस
unn.prixa.net

काठमाडौं - सरकारले राष्ट्रप्रमुखको सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर केही थान सवारी साधन खरिद गर्न लागेको स्पष्ट पारेको छ ।

राष्ट्रिय आवश्यकता तथा राष्ट्र प्रमुखको सुविधालाई ध्यानमा राखेर सरकारले उक्त निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले त सरकार आफँैले नै राष्ट्र प्रमुखप्रतिको दायित्व पूरा गर्न सरकारले सवारी साधन खरिद गर्न लागेको यसअघि नै स्पष्ट पारिसक्नुभएको छ । 

देशभित्र राष्ट्रपतिको सहज आवागमनका लागि सरकारले आवश्यक ठानेर ती सवारी साधन खरीद गर्ने निर्णय गरेको हो । ती सवारी साधन अन्तर्राष्ट्रियसभा सम्मेलन आयोजना हुँदा आमन्त्रण गरिने विशिष्ट पाहुनाका लागिसमेत उपयोग गरिने सरकारको सोच छ ।

विगतमा नेपालमा भएका अन्तर्राष्ट्रिय महत्वका कार्यक्रममा आमन्त्रित अतिथिले नै आफैं सवारी साधन लिएर आएको उदाहरण छ । 

सरकारले एमएस वोरा इन्टरट्रेड कम्पनी लिमिटेड थाइल्याण्डको नाममा प्रतितपत्र खोलेको छ । उक्त प्रतितपत्र खोल्ने निर्णय यही मङ्सिर ८ गते भएको हो । 

अर्थ मन्त्रालयले गत साउन १४ गते नै सवारी साधन खरिदका लागि आवश्यकपर्ने रु १४ करोड १३ लाख बजेट उपलब्ध गराएको छ । सो बजेटबाट एक थान बुलेट प्रुफ जीप, स्कर्टिङमा प्रयोग हुने दुई थान जीप र एउटा बस रहेको छ । ती सवारी साधन खरीदका लागि अमेरिकी डलर १२ लाख ३४ हजार ४६८ बराबरको प्रतितपत्र यही मङ्सिर ५ गते खोलिएको छ । 

रक्षा मन्त्रालयबाट प्राप्त एक विवरणअनुसार सवारी साधन खरीदका लागि आवश्यक बजेट व्यवस्था गर्न आर्थिक वर्ष २०७३-७४ मा नै रक्षा मन्त्रालयबाट अर्थ मन्त्रालयमा अनुरोध भएको हो । यस्तै २०७३ साउन नौ गते रक्षाले नेपाली सेनालाई खरीद प्रक्रिया अगाडि बढाउन पत्राचार गरेको थियो । 

सेनाले २०७३ असार १३ गते बुलेट प्रुफ ल्याण्ड क्रुजर जीप एक थान, अगुवा, पछुवा ल्याण्ड क्रुजर जीप दुई थान, २९ सिटे मिनिबस एक थान र एम्बुलेन्स एक थान खरीद सहमति उपलब्ध गराउन रक्षा मन्त्रालयमा अनुरोध गरेको थियो । 

यस्तै २०७४ साउन २५ गते रु १६ करोड १३ लाख ११ हजार ८०३ को सीमाभित्र रही पाँच थान सवारी साधन खरिद गर्न अर्थ मन्त्रालयले स्वीकृति दिएको थियो । तर गत असार २६ गते चार थानमात्रै सवारी साधन खरीदका लागि सेनाले रक्षा मन्त्रालयमा अनुरोध गरेको छ ।

त्यसमा बुलेट प्रुफ जीपको पाँच लाख ६८ हजार अमेरिकी डलर, स्कर्ट जीप चार लाख ६३ हजार २८० अमेरिकी डलर र बसको दुई लाख तीन हजार १८८ अमेरिकी डलर गरी कूल १२ लाख ३४ हजार ४६८ अमेरिकी डलरको मात्रै प्रतितपत्र खोलिएको छ । 

 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया