अस्पतालका सुपरिटेन्डेन्टमाथि कालोमोसो दलेको आरोपमा पाँच जनाविरुद्ध सार्वजनकि मुद्दा

 जेठ २९, २०७५ मंगलबार १५:१:५४ | शैलेन्द्र महतो
unn.prixa.net


धनुषा – जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट रामपरीक्ष यादवलाई कालोमोसो दलेको दलेको आरोपमा प्रहरीले पाँचजनामाथि सार्वजनिक अपराध अन्तर्गत मुद्दा दायर गरेको छ ।

जनकपुर अञ्चल अस्पतालमा पटक–पटक चिकित्सकको लापरबाहीले ज्यान जाने गरेको भन्दै सुधारको लागि ज्ञापनपत्र बुझाउन गएका नयाँ शक्ति नेपाल, तरुणदल, नेविसंघ, विद्यार्थी युनियनसहित स्थानीययुवाहरुको समूहले यादवलाई कालोमोसो दलेका थिए ।

घटनालगतै तीनजनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको थियो । पक्राउ परेका अखिल भटी, अमित पाठक  र विपिनकुमार शाहमाथि सोमबार नै प्रहरीले सार्वजनिक अपराधको मुद्दा दायर गरेर कारबाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यस्तै मंगलबार बिहान कालोमोसो दलेको आरोपमा रमेशकुमार यादव र विजय माथालाई पक्राउ गरी सार्वजनिक अपराध अन्तर्गत मुद्दा दायर गरी कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।

कालोमोसो घटनापछि जनकपुर अञ्चल अस्पतालले दोषिमाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दिएका थिए ।

अन्तिम अपडेट: चैत १४, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया