सुन तस्कर गोरेसहित तीन जनाको सम्पत्तिको अनुसन्धान सुरु

 जेठ २९, २०७५ मंगलबार १५:१२:२८ | उज्यालो सहकर्मी

काठमाडौं – सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले सुन तस्करीमा संलग्न चूडामणि उप्रेति ‘गोरे’ सहित ३ जनाले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्तिको छानबिन सुरु गरेको छ । 

विभागका प्रवक्ता विनोद लामिछानेले सुन तस्करीमा संलग्न अभियुक्तहरु गोरे, भुजुङ गुरुङ र छिरिङ वाङगेललाई सोमबार विभागमा झिकाएर सम्पत्ति छानबिन अनुसन्धान प्रक्रिया अघि बढाएको जानकारी दिनु भएको हो ।

उहाँले सुन तस्करीमा संलग्न जो कोहीलाई पनि अनुसन्धानको दायरामा ल्याउने पनि बताउनुभयो । विभागले गोरे, भुजुङ र छिरिङलाई सम्पत्ति छानबिनको क्रममा सफाइको मौका समेत दिने तयारी गरेको छ । अभियुक्तहरुलाई आवश्यक्ता अनुसार विभागमा झिकाएर सफाइको मौका दिइने पनि प्रवक्ता लामिछानेले जानकारी दिनुभयो ।

विभागले सम्पत्ति छानबिन अनुसन्धानका क्रममा अभियुक्तहरु गोरे, भुजुङ र छिरिङविरुद्ध अदालतमा दायर भएको मुद्दाको प्रमाणलाई पनि आधार बनाउने स्पष्ट पारेको छ । गैरकानुनी ढंगबाट आर्जन गरिएको सम्पत्ति छानबिनका लागि विभागले सम्बद्ध पक्ष सबैसँग संलग्न रहेर अनुसन्धान प्रक्रियालाई अघि बढाउने पनि प्रवक्ता लामिछानेले बताउनुभयो ।

उहाँले अनुसन्धानका क्रममा सुन तस्कर काण्डमा संलग्न समूहलाई नै अनुसन्धानको दायरामा ल्याउन सकिने बताउनुभयो । विभागले सोमबार मोरङ कारगार र सुनसरीको झुम्का कारगारमा रहेका गोरेसहित ३ जना अभियुक्तलाई आवश्यक अनुसन्धानका लागि झिकाएको थियो । पछिल्लो समय ३३ किलो सुन तस्करीमा पनि संलग्न भएको पुष्टि भएपछि उनीहरु पक्राउ परेका हुन् ।

२०६९ सालदेखि सुन तस्करी गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता भुजुङ उनको साला नाता पर्ने डेविटर डाक्टर भन्ने छिरिङ वाङदेल र गोरेले एउटै चेन बनाएर सुन तस्करी गरेको निष्कर्ष निकाल्दै उनीहरुविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।

एउटै चेनमा सुन तस्करी गरे पनि पछिल्लो समय ३३ किलो सुन भुजुङको डिजाइनमा छिरिङ र उनका चालक फाल्दुङ गुरुङले अनामनगर आसपासबाट लुटेको छानबिन समितिको अनुसन्धानबाट खुल्न आएको छ ।

३३ किलो सुन हराएपछि सोधपुछ गर्ने क्रममा गोरेले आफ्नै साथी सनम शाक्यको हत्या गरेपछि सुन प्रकरण बाहिरिएको हो । सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले अनुसन्धानका लागि झिकाएका गोरेसहित ३ जना अभियुक्तहरु अहिले केन्द्रीय कारगारमा राखिएका छन ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया