कसले जलाउँछ पार्किङ गरिराखेको सवारीसाधन ?

 मंसिर १३, २०७५ बिहिबार १४:३६:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – नेपालगञ्जमा पछिल्लो समय पार्किङ गरेर राखिएका सवारी साधनमा आगजनी हुन थालेको छ । केही दिनयता निरन्तर आगजनीका घटना भैरहेका छन् । 

नेपालगञ्जको अति ब्यस्त धम्बोजी चोकमा पार्किङ गरी राखिएका ५ वटा अटो रिक्सा र एउटा घुम्ती पसलमा बुधबार राति आगजनी भएको छ । अपरिचित समूहले नजिकै रहेका किराना पसलमा मट्टितेल छर्केर आगजनीको प्रयास गरेको देखिएको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष प्रमोदि रिजालले जानकारी दिनुभयो । 
 
स्थानीय बासिन्दाले केही दिनअघि पनि मट्टितेल खन्याएर किराना पसलमा आगजनी गरिएको बताएका छन् । दुई दिनअघि नेपालगञ्जका पत्रकार अर्जुन वलीको घरमै पार्किङ गरी राखिएको मोटरसाइकलमा पनि आगजनी भएको थियो । 

जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले घटनाका सम्बन्धमा अनुसन्धान भैरहेको जनाएको छ । तर कसले र किन यसरी पार्किङ गरेर राखेको सवारीसाधनमा आगो लगाउने गर्छन् भन्ने पत्ता लाग्न सकेको छैन । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया