‛कमाएर श्रीमानलाई सहयोग गरौंला भनेर पासपोर्ट बनाएँ, स्याहार गर्न विदेश आउनु पर्यो′ (भिडियोसहित)

 मंसिर १३, २०७५ बिहिबार १५:३:३० | उमाकान्त पाण्डे

युएई – कमाउन परदेश उडेका सुमन दिनहुँ परिवारसँग टेलिफोनमा कुरा गर्नुहुन्थ्यो ।

तर लक्ष्मी पूजाको दिनदेखि तीन दिनसम्म कुनै खोजखबर नहुँदा परिवारका सबै चिन्तित थिए । ‛परिवारका सबै आत्तिएका थियौं′ दुवै मृगौला फेल भएर आवुधावीको खालिफा अस्पतालमा उपचाररत चितवन रत्ननगर–२ टाँडीका सुमन परियारकी श्रीमती सबिता परियारले भन्नुभयो । श्रीमानलाई स्याहार गर्न उहाँ अहिले आवुधावी आइपुग्नुभएको छ ।

यहाँ आउनुअघि फोनमा कुरा हुँदा सुमनले पेट दुखेको बताउनुभएको थियो । ‛ग्यास्ट्रिकले होला समयमै खाना खाने गर्नुहोला भनेकी थिएँ′ सविताले भन्नुभयो । तीन दिनपछि सुमनका म्यानेजर समेत रहेका चितवनकै सन्जु तमुले फोन गरेर सुमन अस्पतालमा भर्ना भएको जानकारी दिनुभयो । सुरुमा दुवै मृगौला फेल भएको भन्ने सुनेर परिवारका सबैलाई पत्याउनै मुश्किल पर्यो ।

घरको एउटा छोरो, त्यो पनि विदेशमा अस्पताल भर्ना भएको सुनेर रुवाबासी चल्यो । म्यानेजर सन्जुले परिवारलाई सुमनको स्वास्थ्यबारे दैनिक जानकारी दिनुहुन्थ्यो । 

सुमनलाई भेट्न दैनिक १५ जना अस्पताल पुग्थे । पालैपालो गरेर कम्पनीका नेपाली सहकर्र्मीहरु कुरुवा बस्थे । कम्पनीको काम र बिरामी कुरुवा बस्दा सबैलाई समस्या थियो ।

सुमनले अस्पतालको बेड छेउमा राखेको एउटा डायरीमा परिवारको सम्झनाले पिरोलेको लेख्नुभएको थियो । सुमनलाई भेट्न पुगेका गायक प्रकाश पौडेलले श्रीमतीलाई भिजिट भिसामा ल्याए सजिलो हुने भए आफूहरुले सहयोग गर्ने बताउनुभयो । 

अर्काे दिन सविताको भिसा पनि निस्कियो । दुतावासले अध्यागमनलाई सिफारिस पत्र बनाइदियो । आबुधाबीमै कार्यरत अमृता सिग्देलले नेपाल एयरलाइन्सको सहुलियत टिकट जुटाउनु भयो । 

६ महिनाअघि सुमन बिदामा नेपाल गएको बेला परिवारमा सल्लाह भएको थियो, बुवाआमाको उमेर छँदै श्रीमान श्रीमती मिलेर कमाउने र नेपाल फर्केर केही व्यवसाय गर्ने ।

सबैको सल्लाहमा सबिताको पासपोर्ट बनाउने कुरा भयो । सबिताले दुई महिना पहिले पासपोर्ट पनि बनाउनुभएको थियो । त्यही पासपोर्टले उहाँलाई विदेश आउन सजिलो भयो । तर कमाउन हैन, बिरामी श्रीमानलाई स्याहार  गर्न ।

कमाएर श्रीमानलाई सघाउने र सबै परिवार सँगै बस्ने योजना बुनेर बसेकी सवितालाई बिरामी श्रीमानको स्याहार गर्न बिदेश आउनु पर्छ भन्ने कहिल्यै लागेको थिएन । 
बिहानै अस्पताल पुगेर श्रीमानलाई भेट्दा दुवैका आँखा रसाए । सन्जुले दुबै जनालाई सम्झाउनु भयो । अस्पतालको बेडमा श्रीमती देखेपछि सुमनको अनुहारमा चमक देखियो । 

धन्य खालिफा अस्पताल 

उपचार गर्न सुमन युएईको सरकारी शेख खालिफा अस्पतालमा भर्ना हुनुभएको थियो । कम्पनीले गरिदिएको बिमाले उहाँको सबै उपचार सम्भव थिएन ।

अत्यावश्यक भएर अस्पताल भर्ना भएका सुमनलाई पहिलो चरणको उपचार खर्च अस्पताल आफैंले गरिदियो । १५ दिन अस्पताल बस्दा दैनिक ३ पटक खाना र ९ पटकसम्म डायलायसिस खर्च अस्पतालले व्यहोरिदियो । 

सुमनका दुवै मृगौला काम नलाग्ने भएका छन् । जतिसक्यो छिट्टो फेर्नुपर्छ, नफेर्दासम्म नियमित डायलायसिस गर्नुपर्छ भन्दै अस्पतालले मंगलबार डिस्चार्ज गरिदियो ।

अब साताको तीन पटक अस्पताल पुगेर डायलायसिस गर्नुपर्छ । केही समय आराम गर्नुपर्ने र मृगौला पाएपछि फेर्नुपर्ने भन्दै डाक्टरले कुनै पनि समय असजिलो भए अस्पताल आउन सुझाएका छन ।

उभिन नसक्ने अवस्थामा अस्पताल पुर्याएको मान्छेलाई तँग्राएर घर पठाउँदै गरेको देखेर सुमनका म्यानेजर समेत रहेका सन्जुले अस्पताललाई ‛धन्य खालिफा′ भन्नुभयो ।   

यो पनि पढ्नुहोस्

युएई पुगेका सुमनका दुवै मृगौला फेल, आमाको पुकार–मेरो मृगौला दिन्छु, छोरो बचाइदिनुहोस्

अन्तिम अपडेट: चैत १४, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया