रुकुमको मैकोटबाट ६ लाख खर्च गरेर ५५ थान भरुवा बन्दुक संकलन

 मंसिर १३, २०७५ बिहिबार १५:९:३४ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व –  रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका मैकोटमा हतियारलाई गहनाको रुपमा लिने चलन छ ।

यहाँका स्थानीयले विवाह गर्दा, जन्मदा, मर्दा तथा अन्य विभिन्न सामाजिक काम गर्दा बन्दुक पड्काउने चलन छ । यो मैकोटीको संस्कृति नै हो । यसै संस्कृतिका कारण यहाँका नागरिकहरुले वर्षौँदेखि अधिकांश घरमा बन्दुक राख्दै आएका छन् । 

तीनै गहना संकलन गरेर स्थानीय प्रशासनलाई बुझाउँदा भने मैकोटी मन अमिलो भएको छ । स्थानीय वन तथा वन्यजन्तु समितिका अध्यक्ष अमरधर पुनले, बन्दुक संस्कृतिको गहनाका रुपमा रहेकाले बन्दुक संकलन तथा हस्तान्तरण गर्दा ठूलो सकस भोग्नु परेको बताउनुभयो । 

सकसका बीच पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १ र २ मैकोटबाट संकलन गरिएका ५५ थान भरुवा बन्दुक जिल्ला प्रशासन कार्यालयलाई बुझाइएको छ । स्थानीय वन तथा वन्यजन्तु संरक्षण समितिको पहलमा दुई वडामा भएका भरुवा बन्दुक संकलन गरी बुधबार जिल्ला प्रशासनकार्यालयमा बुझाइएको हो । समितिले हतियार संकलनका लागि अभियान नै सञ्चालन गरेको थियो । तीन महिनाको अभियानपछि समितिले ५५ थान बन्दुक संकलन गरेर जिल्ला प्रशासन कार्यालयलाई बुझाएको समितिका अध्यक्ष अमरधन पुनले बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले ५५ थान बन्दुक प्रशासनलाई प्राप्त भएको जानकारी दिनुभयो । उहाँका अनुसार ५५ थान बन्दुकमध्ये ४७ थान बन्दुक प्रयोग भैरहेको अवस्थाका छन् भने ८ थान बन्दुक प्रयोगविहीन अवस्थामा रहेका छन् । यसलाई शान्ति सुरक्षाका हिसावले ठूलो उपलब्धिका रुपमा लिएको उहाँको भनाई छ । स्थानीय वन तथा वन्यजन्तु संरक्षण समितिसँग निरन्तरको समन्वयपछि उक्त हतियार संकलन गर्न सफल भएको प्रजिअ शर्माले जानकारी दिनुभयो । 

मैकोटलाई लगभग घरेलु बन्दुकमुक्त बनाउन सफल भएको र यो अभियानलाई जिल्लाभर निरन्तर रुपमा सञ्चालन गर्ने प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । सबैको सहयोगले यो सम्भव भएको  र विशेषगरी स्थानीय वन समूह, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय नागरिकलगायतको यसमा योगदान रहेको शर्माले उल्लेख गर्नुभयो । 

प्रशासनलाई बुझाइएका बन्दुक सबै अवैध हुन् । पञ्चायतकालमा अञ्चलाधीशबाट अनुमति लिने र वर्ष–वर्षमा नवीकरण गर्ने गरे पनि जनयुद्ध सुरु भएपछि भने सबै हतियार अवैध भएको संरक्षक पुनले जानकारी दिनुभयो । यी हतियारको अभिलेख राखेर जिल्ला प्रहरी कार्यालयमा राखिने प्रमुख जिल्लाअधिकारी शर्माले बताउनुभयो । 

बन्दुक संकलन गर्दा ६ लाख खर्च

जिल्ला प्रशासन कार्यालयले गरेको सूचनाकै भरमा निकै कमले मात्र बन्दुक बुझाउने गरेका थिए । स्थानीय वन तथा वन्यजन्तु संरक्षण समिति नै अगाडि सरेपछि हतियार संकलन गर्न सहज भएको थियो । आवश्यक निर्णयसहित समितिका पदाधिकारी र सदस्यहरु हतियार संकलन अभियानमा जुटेर पनि त्यो सम्भव भएन ।

जब समितिले १०-१०हजार रुपैयाँ दिएर हतियार संकलन गर्न थाल्यो तब मात्र सहज भएको समितिका सचिव धनिमान पुनले बताउनुभयो । बन्दुक संकलनका लागि साढे ६ लाखको हाराहारीमा खर्च भएको समितिको भनाई छ । समितिका अनुसार ५ लाख ५० हजार स्थानीयलाई दिन र अन्य खर्च समितिका पदाधिकारी खट्दा खर्च भएको छ । 

चोरीसिकारी रोक्न हतियार संकलन

ढोरपाटन सिकार आरक्षको ६२ प्रतिशत भूभाग पुथाउत्तरगंगा गाउँपालिका १ र २ नम्बर वडा मैकोटमा पर्दछ । यस सिकार आरक्षका जम्मा ६ ब्लकमध्येमा४ वटा ब्लक पनि यसै क्षेत्रमा पर्दछन् । आरक्षमा स्थानीयबाटै चोरीसिकारी बढेपछि वन तथा वन्यजन्तु संरक्षण समिति चोरी सिकारी रोक्न लागि परेको हो । चोरी सिकारी बढ्नुको प्रमुख कारण घरेलु हतियार भएको निष्कर्ष निकाल्दै समितिले चोरी सिकारी रोक्नका लागि हतियार संकलन अभियान थालेको समितिका संरक्षकसमेत रहेका स्थानीय अगुवा लक्ष्मीप्रसाद पुनले बताउनुभयो । 

घरेलु बन्दुकका कारण वन्यजन्तु लोप हुने अवस्थामा पुगिसकेकाले शून्य घरेलु हतियार गाउँनिर्माण गरी वन्यजन्तुको संरक्षण गर्नका लागि हतियार संकलन गरेर प्रशासनलाई बुझाएको उहाँ बताउनुहुन्छ । वन्यजन्तु लोप हुन थालेपछि पर्यटन विकासमा ठूलो चुनौती आइलागेको पुनको भनाई छ । 

मैकोटमा बर्सेनि लाखौँ तिरेर देश तथा विदेशका सिकारीहरु सिकार खेल्न पुग्ने गरेका छन् । तर वन्यजन्तु पाइन छाडेपछि भने वर्षमा मुश्किलले ४, ५ जना सिकारी मात्र आउने गरेको संरक्षक पुनले बताउनुभयो । त्यस ठाउँमा मृग, नाउर, झारल, हिमचितुवा, रेडपाण्डालगायतका वन्यजन्तुहरु पाइने गरेका छन् । 


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया