पेट्रोलियम पदार्थको मूल्य पुनरावलोकन गर्न निगम सहमत

 जेठ २९, २०७५ मंगलबार १७:२:२४ | नवराज फुयाँल

काठमाडौं – पेट्राेलियम पदार्थमा पछिल्लोपटक वृद्धि भएकाे मूल्य पुनरावलोकन गर्न नेपाल आयल निगम सहमत भएको छ ।

विभिन्न विद्यार्थी संगठन र निगमका पदाधिकारीबीच मंगलबार भएको वार्तामा मूल्य पुनरावलोकन गर्न निगम सहमत भएको हो । मूल्य पुनरावलोकनका सम्बन्धमा विभागीय मन्त्री र निगम सञ्चालक समितिबीच छलफल गरेर निर्णय गरिने निगमका कार्यकारी निर्देशक शुशिल भट्टराईले बताउनुभयो । 

'आवश्यक छलफल गरेर भोलिसम्ममा मूल्य पुनरावलोकनको बारेमा ठोस निर्णय गर्छु’, उहाँले भन्नुभयो, ‘म एक्लैले बढेको मूल्य फिर्ता लिइहाल्न सक्ने अवस्था छैन ।’ स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेकाले घटाउन पनि यसमा सबैको सहमति चाहिने उहाँले बताउनुभयो । 

विद्यार्थी स‌ंगठनका पदाधिकारीले विद्यार्थी तथा विपन्न बर्गलाई सहुलियत रुपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउने व्यवस्था तत्काल मिलाउन पनि अाग्रह गरेका छन् । विद्यार्थी संगठनसँग निगमले विगतमा गरेको सहमति छिटाे कार्यान्वयन गर्न पनि उनीहरुले माग गरेका छन् । 

छलफलमा निगमका कार्यकारी निर्देशक भट्टराई, विद्यार्थी नेतृ एवं सांसद नविना लामा, रंजित तामाङ, ऐन महर, सुरेन्द्र बस्नेत, विवेक राई, विमल पोखरेललगायतको सहभागिता रहेको थियो । 

पछिल्लो पटक जेठ १९ गते बृद्धि भएको पेट्रोलियम पदार्थको मूल्य अनुसार पेट्रोलको ११३, डिजेल र मट्टितेलको समान ९५ रुपैयाँ पुगेको छ । अनावश्यक रुपमा मूल्यवृद्धि भएकाे भन्दै विद्यार्थी संगठनहरुले भने दवावमूलक कार्यक्रम गर्दै अाएका छन् ।
 

अन्तिम अपडेट: चैत २१, २०८०

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया