नेपाली कांग्रेसको प्रस्तावित विधान मस्यौदामाथि छलफल सुरु

 मंसिर १३, २०७५ बिहिबार १९:७:३४ | उज्यालो सहकर्मी

काठमाडौं – नेपाली कांग्रेसको प्रस्तावित विधान मस्यौदामाथि आजदेखि छलफल सुरु भएको छ । 

लामो समयदेखि विवादमै रहँदै आएको विधानको मस्यौदामाथि आजबाट केन्द्रीय समितिको बैठकमा छलफल सुरु भएको हो । 

आजबाट सुरु भएको छलफलको पहिलो दिन पाँच जना केन्द्रीय सदस्यहरुले विधानमाथि उठेका असहमतिका बुँदाहरुका बारेमा आ–आफ्नो धारणा राखेका छन् ।  
आज पहिलो दिन पाँच जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेपछि बैठक अर्को शुक्रबारसम्मका लागि स्थगित भएको छ । आजको बैठकमा केन्द्रीय सदस्यहरु डा. रामशरण महत, महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, नविन्द्रराज जोशी र प्रदिप पौडेलले विधान संशोधनको मस्यौदा माथि आ–आफ्नो धारणा राख्नु भएको हो ।  

पार्टीको विधान मस्यौदामा पार्टी सभापतिलाई मात्रै बलियो बनाउने गरी तयार गरेको भन्दै विरोध हुँदै आएको थियो । 

मस्यौदा समितिमा सहमति हुन नसकेका विषयमा सहमति खोज्न केन्द्रीय कार्यसमिति बैठकमा छलफल चलिरहेको हो । 

पार्टी सभापति शेरबहादुर देउवा पक्ष भने सभापतिलाई अधिकारसम्पन्न बनाउने गरी विधान पारित गराउने प्रयासमा लागेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष कसरी आफ्नो अनुकुल विधान पारित गराउने भन्नेमा केन्द्रित छ । पौडल पक्षका नेताहरु यसअघि पटक–पटक सुजाता कोइराला र शशांक कोइराला निवासमा बैठक बसेर रणनीति बनाएका छन् । 

संस्थापन पक्षका नेताहरु पनि सभापति देउवा निवासमा भेला भएर आफू अनुकुल विधान पारित गराउन रणनीति बनाएको सहभागी एक सदस्यले जानकारी दिए । 

मंसिर ७ गते बसेको केन्द्रीय समितिमा विधान मस्यौदा समितिले पेश गरेको विधान मस्यौदा माथि आजबाट छलफल सुरु भएको हो ।    
 

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया