एउटा परिवारै सखाप पार्ने गरी भएको आगलागी सुनियोजित भएको आफन्तको दावी

 मंसिर १३, २०७५ बिहिबार २०:९:४ | सुश्मा राजवंशी

झापा – शिवसताक्षि नगरपालिका –७, लालझोडामा आइतबार राति साढे १० बजेको समयमा भएको आगलागीले एउटा परिवार नै सखाप पार्यो । 

३४ वर्षीय लक्षमण खनाल, उनकी श्रीमती २८ वर्षीया राधिका खनाल, ४ वर्षीया छोरी चन्द्रा र ५ महिने नाबालक छोरा टीकारामको सुतिरहेकै अवस्थामा जलेर मृत्यु भयो । 

लालझोडामा रहेको घर जलेर खरानी भएको अनि आफ्ना छोराबुहारी नातिनातिनालाई त्यो आगोले खाएको ५ दिन पुगिसक्यो । तर मृतक लक्ष्मणका बुवाआमाका मनमा भने आगो बलिरहेको छ । लक्ष्मणकी आमा भावविह्वल हुनुहुन्छ । आँखाबाट आँसु रोकिएको छैन । काजकिरियामा बसेका बुवा रामकृष्ण खनाल आफ्नो छोरोको परिवारै सखाप हुने गरी भएको आगलागीको घटाना नियोजित भएको बताउँदै न्यायका लागि सरकासँग माग गरिरहनु भएको छ ।

‘आधा घण्टा मात्र भएको थियो छोरा लक्ष्मण र ४ वर्षीया नातिनी चन्द्रासँग मोबाइलमा कुराकानी भएको ।  एक्कासि फोन आयो छोरा लक्ष्मण खनालको घरमा आगलागी भो रे भन्ने खबर पाएँ, काइँला छोरासँग बाइकमा पुग्दा कान्छो छोरोको घर पुरै जलेर नष्ट भएको थियो ।  अनि आफ्ना छोराका परिवार कोही पनि नबाँचेको सुनेपछि मैले केही गर्नै सकिनँ, हातखुट्टा काम्न थाले’, मृतकका ६५ वर्षीय बुवा रामकृष्ण खनालले भन्नुभयो ।

उहाँको मनमा अनेक प्रश्नहरु उब्जिरहेका छन् : कसरी आगो लाग्यो ? सँगै रहेका छिमेकीले किन थाहा पाएनन् ? छिमेकीको घर किन केही भएन ? मेरै छोराको घर मात्रै किन जल्यो ? यस्ता अनेकौँ प्रश्नले उहाँको मनमा आगो बलिरहेको छ । त्यो जलेको घरको खरानी उठाउन नदिने बताउँदै उहाँका बुवा खनालले सरकारसँग घटनाको सुक्ष्म अनुगमन गरी सत्यतथ्य पत्ता लगाई अपराधी सार्वजानिक गर्न माग गर्नु भएको छ । 

आँखाभरी आँसु, मन गह्रौँ पार्दै मृतककी आमा इन्दिरा खनाल भक्कानिदै आफ्ना छोराको परिवारको मृत्यु दैवले नभई शत्रु लागेर भएको सुनाउनुभयो । त्यत्रो आगलागी हुँदा कसैले आगलागी भएको पत्तै नपाउनु शंकास्पद भएको बताउँदै उहाँले घटनाको छानबिनको माग गर्नुभयो । 

मृतक लक्ष्मणको घर  बुवाका घर भन्दा झण्डै २ किलोमिटर टाढा छ । लालझोडा बस्न थालेको ४ वर्ष मात्रै भएको लक्ष्मण खनालले दुई महिनाअघि मात्र ट्रयाकर खरिद गरेका थिए र गाउँमै कृषि गर्दै आएका थिए ।

स्थानीय भन्छन् : थाहै पाइएन 

घटना भएको ठाउँ लालझोडाका स्थानीयसँग बुझ्दा आगोले पुरै घर जलेर नष्ट भइसकेपछि मात्रै थाहा पाएको सुनाए । कोही चिच्याएको केही आवाज नआएको हिमा सापकोटाले बताउनुभयो । 

घटनापछि स्थानीयहरु पनि त्रसित बनेका छन् । सुरक्षाको माग गर्दै स्थानीय रीता दाहाल साँझ परेपछि डर लाग्ने, घरभित्र सुत्न रात कसरी बिताउने र यस्तो घटनाले गाउँमा बस्नै डर लाग्न थालेको बताउनुभयो । 

अर्का स्थानीय गणेसप्रसाद ढुङ्गेलकी श्रीमती गिता घिमिरे ढुङ्गेल आगो निभाउने प्रयास गर्दै गर्दा सिलिण्डर पड्किएर लाग्दा गम्भीर घाइते हुनुभएको छ । उहाँका अनुसार साढे १० बजे उहाँ पुग्दा सबै जलेर नष्ट भैसकेको थियो । आगलागी कसरी भयो, किन कसैले थाहा पाएनन् जस्ता कुराले परिवारकै ज्यान जानेगरी भएको आगलागीको घटना सुनियोजित भएको हो कि भन्ने लागेको र गाउँमा सुरक्षाको आवश्यक्ता भएको बताउनुभयो । 

परिवार र स्थानीयले घटना शंकास्पद भएको बताउन थालेपछि प्रहरीले छानबिन थालेको छ । शवको पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको र छानबिन थालेको प्रहरीले जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले घटनास्थलको निरीक्षण गरी मृतक लक्ष्मणका परिवारसँग भेट गर्नुभएको छ । प्रवक्ता शर्माले परिवार, छिमेकी र खनालका आफन्तसँगको भेटपछि घटना नियोजित भएको बताउँदै सरकारले यसको छानबिन गर्न आवश्यक रहेको बताउनुभएको छ ।  
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

सुश्मा राजवंशी

झापामा बसेर पत्रकारिता गर्ने सुश्मा राजवंशी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया