ब्लडमनी जुटेपछि युएई दूतावासले शुरु गर्‍याे टोपबहादुरको उद्धारका लागि कानुनी प्रक्रिया

 जेठ २९, २०७५ मंगलबार १७:४:४१ | उमाकान्त पाण्डे

युएई – युएईमा ब्लडमनी तिर्न नसकेर समस्यामा परेका चितवनका टोपबहादुर बिकलाई उद्धार गर्न दूतावासले अदालती प्रक्रिया थालेको छ । 

एनआरएनए युएईको संयोजकत्वमा सञ्चालन गरिएको टोपबहादुर उद्धार अभियान अन्तर्गत युएईमा रहेका नेपाली संघसस्थाले एक लाख दिर्हाम ब्लडमनी जुटाएर दूतावासमा बुझाए पछि टोपबहादुरलाई नेपाल फर्काउन दूतावासले अदालती प्रक्रिया सुरु गरेको हो । 

पहिलो चरणमा ब्लडमनीको फैसला सुनाएको आबुधाबी अन्तर्गत अलऐनको तल्लो अदालतमा रकम बुझाउन दूतावास र एनआरएनएको टोली पुगेको थियो । बिक र उहाँले काम गर्ने कम्पनीले गरेर पीडित परिवारलाई दुई लाख दिर्हाम एकै पटक बुझाउनु पर्ने भन्दै अदालतले बिकको मात्रै ब्लडमनी नलिएपछि दूतावासले उच्चस्तरीय अदालती प्रक्रिया सुरु गरेको सूचना अधिकारी कृष्ण अर्यालले जानकारी दिनुभयो ।     

‘हामीले बिकको मुद्दालाई जत्तिसक्दो छिट्टो टुंंग्याउन पहल गरिरहेका छौं,’ कार्यवाहक राजदूत सागरप्रसाद फुँयालले भन्नुभयो । एनआरएनएले बुझाएको पैसा दूतावाससँग नै भएको र आबुधाबीको उपल्लो अदालतका प्रधानन्यायधीशसँग भेटेर थप प्रक्रियागत छलफल गर्ने उहाँले जानकारी दिनुभयो ।

गएको आइतबारनै दूतावासका पिआरओ रजी अहमदले आबुधाबीको उपल्लो अदालत गएर प्रक्रियाका बारेमा बुझेको र आउँदो हप्ता आफैं गएर भेट्ने पनि उहाँले बताउनुभयो । ‘यहाँको माथिल्लो अदालत सकारात्मक छ, कानुनी प्रक्रिया पूरा गर्न मात्र समय लागेको हो,’ उहाँले भन्नुभयो ।

टोपबहादुरले ब्लडमनी बापत एक लाख दिर्हाम अर्थात झण्डै २९ लाख २० हजार रुपैयाँ थाई नागरिकको परिवारलाई बुझाउनु पर्नेछ । त्यति नै रकम कम्पनीले बुझाउन पर्नेछ । तर टोपबहादुरले काम गर्ने कम्पनी बन्दा भइसकेकाले कम्पनीले तिर्ने रकम भुक्तानकोे विषयले मुद्दा लम्बिएको हो । 

१४ जुन २०१४ मा कार्यस्थलमा भएको दुर्घटनामा परेर टोपबहादुरसँगै काम गर्ने दुई थाई नागरिकको ज्यान गएको थियो । घटनामा उहाँको पनि संलग्नता भएको आरोपमा  १ सेप्टेम्बर २०१४  मा अदालतले दुई लाख दिर्हाम ब्लडमनी तिर्नुपर्ने फैसला सुनाएको थियो । 

एनआरएनद्वारा खाना र बासको व्यवस्था 

तीन महिनादेखि टोपबहादुरलाई खानेबस्ने व्यवस्था एनआरएन युएईले गर्दै आएको छ । ब्लडमनी वापतको पैसा बुझाउन नपाएकै कारण उहाँ ४ वर्ष देखि नेपाल फर्किन पाउनुभएको छैन् । उहाँलाई अहिले एनआरएनएको संरक्षणमा बरदुवईमा रहेको कोठामा राखिएको छ । 

यसअघि चितवन समाजका पर्शुराम घिमिरेले संरक्षण गर्दै आउनु भएको थियो । दूतावास, एनआरएनए लगायत सबैको सहयोगले छिट्टै नेपाल फर्किन पाउने आशा पलाएको टोपबहादुरले बताउनुभयो ।
 

अन्तिम अपडेट: फागुन २९, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया