राधालाई फाप्यो गाई: १ लाख २० हजार महिनाकै कमाई

 मंसिर १४, २०७५ शुक्रबार १४:३१:२७ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – बेसीशहर नगरपालिका–११, चिती तिवारीडाँडाकी राधा तिवारीले व्यावसायिक गाईपालन गर्नुभएको छ । 

गाईपालन व्यवसायबाटै उहाँले मासिक १ लाख २० हजाररुपैयाँसम्म आम्दानी गर्दै आउनुभएको छ । ४ वटा गाईबाट सुरु भएको उहाँको गाईपालनले अहिले फड्को मारेको छ । 

२०७१ सालबाट सुरु भएको उहाँको ‘दोर्दी खोला गाईफर्म’मा अहिले सानाठूला गरी २८ वटा गाई रहेका छन् । उहाँको फर्ममा होलेस्टेन, जर्सी जातका गाई रहेका छन् ।

      

दैनिक ८० लिटर दूध उत्पादन    

अहिले दैनिक १० वटा गाईले दूध दिन्छन् । फर्मबाट दैनिक ८० लिटर दूध उत्पादन हुन्छ । उत्पादित दूध चितीसँगै भोटेओडार र बेसीशहरमा पुग्ने गर्छ । 
फर्ममा उत्पादित दूध उहाँले प्रतिलिटर ३५ देखी ४३ रुपैयाँसम्म दूग्ध डेरीमा बेच्नुहुन्छ । गाउँमा भने प्रतिलिटर ९० रुपैयाँका दरले उत्पादित दूध बिक्री हुन्छ ।   

सुरुमा १ लाख २० हजारको लगानीमा सुरु भएको उहाँको फार्ममा अहिले ३५ लाखभन्दा बढी लगानी भइसकेको छ । राधा तिवारी र उहाँका श्रीमान् प्रकाशबाबु तिवारीले ‘देशकै माटोमा उद्यम गर्नुपर्छ’ भन्ने सोचका साथ व्यवासायिक गाईपालन सुरु गर्नुभएको हो ।  

अहिले श्रीमान् राधाको साथमा हुनुहुन्न । उहाँको श्रीमान् ‘स्वर्गे’ भइसक्नुभयो । तर उहाँले हार नमानी कृषि कर्म गरिरहनुभएको छ । फर्ममा ३ जनाले पूर्ण रोजगारी पाएका छन् ।   

बिहानदेखि बेलुकीसम्म उहाँ गाईको स्याहारसुसारमै व्यस्त हुनुहुन्छ । फर्म परिसरमै उहाँले एउटा माछापोखरी बनाएर माछासमेत पाल्नुभएको छ । 
उहाँको माछापोखरीमा २३ सय माछा छन् । बारीमा रहेको टनेलमा विभिन्न तरकारी लगाइएको छ । उहाँले बाख्रासमेत पाल्नुभएको छ । अहिले उहाँले २० वटा बाख्रा पाल्नुभएको छ ।       

‘श्रीमानकाे सपना पूरा गर्न कृषि कर्म’

गार्इपालन व्यावसायबाटै उहाँले सजिलै जीविका चलाउनुभएको छ । आफ्ना दुई छोरा विदुर र विवेकलाई पढाउनुभएको छ । उहाँको एक छोराले बीबीएस र अर्को छोराले इलेक्ट्रोनिक ओभरसियर पढ्दै छन् । 

आउँदा दिनमा पनि कृषि कर्मलाई व्यवस्थित रुपमा थप विस्तार गर्ने उहाँको सोच छ । ‘श्रीमान्ले देखेको सपना पूरा गर्नका लागि पनि कृषि कर्मलाई निरन्तरता दिनेछु । सकेसम्म छोराहरुलाई पनि कृषि कर्ममा डोर्याउनेछु,’ ४१ वर्षे राधाले जोसिलो पारामा भन्नुभयो ।

फर्ममा टनाटन गाई देख्दा, बारीमा तरकारी देख्दा आफ्नो मनै आनन्दित हुने उहाँले बताउनुभयो ।         
 

अन्तिम अपडेट: चैत १०, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया