मिस वर्ल्ड २०१८: नेपालकी श्रृंखला खतिवडा हेड टु हेड च्यालेञ्जकाे फाइनल राउण्डमा प्रवेश

 मंसिर १४, २०७५ शुक्रबार २१:७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

मिस नेपाल वर्ल्ड श्रृंखला खतिवडा मिस वर्ल्ड २०१८ को हेड टु हेड च्यालेञ्जकाे फाइनल राउण्डमा प्रवेश गरेकी छिन् ।

मिस वर्ल्ड २०१८ को हेड टु हेड च्यालेञ्जकाे फाइनल राउण्डको यात्रा तय गर्न सफल २० समूहध्ये १३ अाैं समूहकाे विजेता बन्दै उनले याे यात्रा तय गरेकी हुन् ।

हेड टु हेड च्यालेञ्जका लागि ११८ प्रतियोगीलाई २० वटा समूह बनाई प्रतिस्पर्धा गराइएको थियो । जसमध्ये प्रत्येक समूहबाट एक प्रतिस्पर्धीले  समूह विजेता बन्दै अर्को चरणको यात्रा तय गर्ने प्रावधान अनुुसार यी २० प्रतियोगीहरु छानिएका हुन् ।   

नेपाल २० मध्ये १३ औं समूहमा परेको थियो जसमा नेपालबाहेक अर्जेण्टिना, बोस्निया एण्ड हर्जगोभिना, ग्वाम, लक्जेम्बर्ग र मल्दोभाका सुन्दरीहरु थिए । बाँकी ५ प्रतिस्पर्धीलाई पछि पार्दै नेपाल समूह विजेताका रुपमा हेड टु हेड च्यालेञ्जको फाइनल राउण्डका लागि छानिएको छ। 

यो जितसँगै ११८ प्रतियोगीबाट मिस वर्ल्ड२०१८ को उपाधिका लागि सेमी फाइनलमा पुग्ने ३० जनामा पर्नका लागि नेपालको सम्भावना जिवितै रहेको छ ।

सामाजिक सञ्जालमा प्रचार प्रसार भएजस्तो भोटका आधारमा मिस वर्ल्डको उपाधि जितिने होइन, बरु उपाधिका लागि अघिल्ला चरणमा पुग्न सहयोग मात्र हुने हो ।

११८ प्रतियोगीमध्ये जम्मा ३० जना सेमी फाइनलमा पुग्छन् र बाँकी सबै फालिन्छन् ।  

तीनै ३० जनाबीच उपाधिका लागि मिस वर्ल्ड २०१८ घोषणा हुने दिन भिडन्त हुनेछ र एक जनाले मिस वल्र्ड २०१८ ताज पहिरिनेछिन् । 

सेमी फाइनलको ३० जनामध्ये प्रतियोगिताका निर्णायकहरुले १५ जना छान्दछन् भने बाँकी १५ जना हेड टु हेड च्यालेञ्जजस्तै अन्य विभिन्न प्रतियोगिताका माध्यमबाट छानिन्छन् ।

ती प्रतियोगिताहरुमा ब्यूटी विद पर्पस, ट्यालेण्ट, स्पोर्टस् तथा मल्टिमिडिया पर्दछन् ।

ती मध्ये हेड टु हेड च्यालेञ्जबाट १० जना सेमी फाइनलका लागि छानिन्छन् । यस हिसाबले अहिले छानिएका २० मध्ये १० जनाले कम्तीमा एक जना प्रतियोगीलाई हराएपछि सेमी फाइनलको यात्रा तय गर्न सक्छन् । 

हेड टु हेडमा फालिए पनि अर्को सम्भावना बाँकी रहन्छ किनकि बाँकी ५ जना भने अन्य ५ प्रतियोगिताका विजेताहरुलाई लिइने हो । ५ प्रतिस्पर्धामध्ये टप मोडल र स्पोर्टस सम्पन्न भइसकेको छ । टप मोडल जापानले र स्पोर्टस् अमेरिकाले जितेको छ । 

नेपालले हेड टु हेडमा २० मध्ये १० जनामा पर्न सफल भएमा सेमी फाइनल पुग्ने पक्का छ । हेड टु हेड च्यालेञ्जकाे दाेस्राे राउण्डमा प्रतिस्पर्धीहरुले विभिन्न प्रस्तुति दिनुपर्ने हुन्छ ।

यदि हेड टु हेड च्यालेञ्जको उत्कृष्ट १० मा नपरे बाँकी रहेका ३ प्रतिस्पर्धा मल्टिमिडिया, ब्यूटी विद पर्पस वा ट्यालेण्ट मध्ये कुनै एक उपाधि जिते पनि सेमी फाइनलको यात्रा पक्का हुनेछ ।

यी दुवै तरीकाबाट छानिन नसकेको खण्डमा भने नेपाल तथा श्रृंखला खतिवडाका लागि मिस वर्ल्ड २०१८ को यात्रा यहीँ टुंगिनेछ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

1 Comments

  • कृष्शंणकर घिमिरे

    Nov. 30, 2018, 9:45 p.m.

    सारा नेपालीको सद्भाव, शुभेच्छा र माया पाएर अनि आफ्नै प्रतिभा समेत प्रदर्शन गरेर शृंखलाले ताज पहिरने छिन् |

  •  0 Reply

तपाईको प्रतिक्रिया