सडकभरि सरकार ! अन्त पनि देखिएला भन्ने डर !

 मंसिर १५, २०७५ शनिबार ८:४०:४९ | मिलन तिमिल्सिना
unn.prixa.net

प्रधानमन्त्रीले छाती ठोकेर भन्नुभयो – अब जता हेर्यो त्यतै सरकार देखिन्छ । त्यसको भोलिपल्टै सडकभरि सरकार देखियो । जताततै सरकार नै सरकार भएपछि नागरिकले हिँड्न पाएनन् । गाडी चढ्न पाएनन् । 

आफू हिँड्नुपर्ने ठाउँमा सरकार हिँडेपछि, आफू गुड्नुपर्ने ठाउँमा सरकार र उनीहरुका पाहुना गुडेपछि नागरिकले पालो आउने कुरा पनि भएन । जोर र बिजोरले कामचोरलाई मस्ती भयो, सोझासिधा नागरिकलाई सास्ती भयो । तर यसलाई सास्तीको रुपमा होइन, सरकार देखिएको उपलक्ष्यमा उत्साहको रुपमा लिनुपर्छ । 

त्यसमाथि आफू देखिएको प्रमाणित भयो भन्ने ठानेपछि सरकारले जोरबिजोर प्रणाली हटायो । जोरबिजोर लगाउँदा पनि सरकार देखियो, बीचमै हटाउँदा पनि सरकार देखियो ।

प्रधानमन्त्रीको भनाईअनुसार अब सबैतिर सरकार पुग्छ । भान्सा कोठामा सरकार ! सुत्ने कोठामा सरकार ! हिँड्ने बाटोमा सरकार ! खेतबारीको पाटोमा सरकार ! चोक चौतारोमा सरकार !  धारा पँधेरामा सरकार ! वन जंगलमा सरकार । मेलापातमा सरकार । दोबाटो, चौबाटो, मूलबाटो जताततै सरकार ! यता फर्के पनि सरकार, उता फर्के पनि सरकार !

यतिसम्मका ठाउँमा सरकार देखिए त त्यति फरक नपर्ला । तर मन्त्रालयमा देखिने सरकार शौचालयमा समेत देखियो भने ! मिटिङ रुममा मात्रै होइन, बेडरुममै सरकार भेटियो भने ! सेटिङ स्पटदेखि डेटिङ स्पटसम्म सरकारले देख्यो भने !

ठूलाबडा चाहार्ने तारे होटलमा मात्रै होइन, केटाकेटी लुकीचोरी भेट हुने होटलमा समेत सरकार देखियो भने ! देखिन नपर्ने ठाउँमा सरकार भेटियो भने ! अर्थात कसैले देख्न नहुने ठाउँमा सरकारले देख्यो भने ! प्रधानमन्त्रीको भाषण सुनेर धेरै मान्छेको मनमा ढ्याङ्ग्रो ठोकेको छ ।

देखिन नपर्ने ठाउँमा सरकार देखिएला भन्ने चिन्ता मात्र कहाँ हो र ! सबैभन्दा बढी त सरकारले नदेखी नहुने ठाउँमा साँच्चै सरकार देखियो या सरकारले देख्यो भने के गर्ने भन्ने चिन्ता पो छ !

बलात्कारी र ज्यानमारालाई अझै सरकारले देखेको छैन । प्रधानमन्त्रीको कुरा पत्याउने हो भने अब तिनलाई सरकारले देख्छ । अहिलेसम्म त देखे पनि नदेख्या जस्तो गर्दा ठीकै थियो । अब देखियो नै भनेपछि नदेख्या जस्तो गर्न पनि मिल्दैन । देखियो भनेपछि त्यसै छोड्न पनि मिल्दैन । समातेर थुन्नु पर्यो । कारबाही गर्नुपर्यो । सरकारले साँच्चै देख्ला कि अर्थात देखें भन्ला कि भनेर हत्यारा र बलात्कारीलाई चिन्ता छ । 

यस्तै चिन्ता छ, कामचोर कर्मचारीलाई पनि । जतिसुकै सुशासनका कुरा भए पनि टेबुल मुनीबाट पैसा तानेर खल्तीमा राख्ने बानी हटेको छैन । भ्रष्टाचार र ढिलासुस्ती उस्तै छ । प्रधानमन्त्रीले भनेजस्तो हुने हो भने अब टेबलमुनि पनि सरकार देखिन्छ । खल्तीमा पनि सरकार देखिन्छ । भ्रष्टाचार, ढिलासुस्ती र कामचोरहरुको अड्डामा पनि सरकार देखिन्छ । अर्थात सोझासिधा नागरिकलाई बिनाकाममा दुःख दिने र पैसा असुल्ने कर्मचारीलाई सरकारले देख्छ ।

पहिलेजस्तो देख्या नदेख्या गर्न मिल्दैन । साँच्चै देखियो नै भन्नुपर्ने हुन्छ । त्यसैले त्यस्ता कर्मचारी आफ्ना समूहका साथीहरुसँग कानेखुशी गर्न थालेका छन् – ए के गरेको, सरकारले देख्ला !

साँच्चै भन्ने हो भने अहिलेसम्म सिंहदरबार, बालुवाटार र मन्त्री निवास बाहेक अन्त सरकार देखिएकै छैन । हाट बजारमा सरकार छैन । तरकारी बजारमा सरकार छैन । खाद्यान्न पसलमा सरकार छैन । पेट्रोल पम्पमा सरकार छैन । सबैभन्दा धेरै सरकारको उपस्थिति हुनुपर्ने ठाउँमा नै सरकार छैन । त्यसैले त महंगी, कालोबजारी र अनियमितता बढ्दैछ । 

प्रधानमन्त्रीले पत्याउनकै लागि भनेको हो भने अब बजार बजारमा सरकार पुग्छ । महंगी र कालोबजारी देख्छ । देखेपछि देखंँ भन्नुपर्छ । देखेँ भनेपछि कारबाही गरेँ भनेर लेख्नुपर्छ । देखे र लेखेको कुरा पूरा गरेको नागरिकले पनि देख्नुपर्छ । अनि त्यस्ता व्यापारी र व्यवसायीलाई डर हुनुपर्छ– ए के गरेको, सरकारले देख्ला !

प्रधानमन्त्रीको कुरा हावादारी होइन भने सरकार अब हावासरी भ्याट छलीहरु बस्ने ठाउँमा पनि पुग्छ । भ्याट छलेर पेटभित्र ‘फ्याट’ बढाउन खप्पिस व्यापारीहरुमा खैलाबैला हुन्छ । सरकारले देखेपछि भ्याट छल्नेहरु भटाभट समातिन्छन् । समातिने डर भएपछि भ्याट छली गर्ने ‘फ्याटे’हरुले पनि भन्नेछन् – ए के गरेको, सरकारले देख्ला ।

अनि जता हेर्यो त्यतै सरकार देखिएपछि पप्पुलगायतका ठूलाबडा ठेकेदारहरुले पनि सरकार देख्लान् । सरकारले उनीहरुलाई देख्ला । पहिले देखिँदा पनि वास्ता नगर्ने सरकारले अब साँच्चै देखें भन्ला । पापड बनाएझैँ उतिखेरै भत्याङभुतुङ हुने पुल र भवन बनाउने पप्पुहरुले सरकार देखिएला भनेर डर मान्लान् । बाटोघाटो, पुलपुलेस, घरभवन र अरु विकास निर्माणका काममा झारा टार्नेहरु तर्सिएलान् – ए के गरेको, सरकारले देख्ला ।

तर यी सबै तर्सिएकाहरुको मन अझै ढुक्क छ । किनकी प्रधानमन्त्रीको भनाईअनुसार गराई न पहिले मिलेको छ, न अहिले मिल्ने छाँट छ । देखिनुपर्ने ठाउँमा देखिन्छु भनेर सरकारले भन्नै पर्ने होइन नि । भन्नुभन्दा पहिले देखिनुपर्ने हो । तर भनिसकेपछि पनि देखिएको छैन ।

तत्काल देखिने छाँट पनि छैन । कतै देखिएकै छैन, कतै देखे पनि देखें भनेको छैन । साँच्चै देखियो भने, देखेर पनि देखें भन्यो भने अनि हामीले पनि भन्ने दिन आउँछ– ए साँच्चै सरकार देखियो नि, सरकारले देख्यो नि !

देखिनुपर्ने ठाउँमा सरकार देखिए त त्यति फरक नपर्ला । तर मन्त्रालयमा देखिने सरकार शौचालयमा समेत देखियो भने ! मिटिङ रुममा मात्रै होइन, बेडरुममै सरकार भेटियो भने ! सेटिङ स्पटदेखि डेटिङ स्पटसम्म सरकारले देख्यो भने !


 

अन्तिम अपडेट: चैत १३, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया