युएईले दिएको आममाफी प्रक्रिया सकियो : १ हजार नेपाली फर्किए, वैधानिक बन्ने धेरै

 मंसिर १५, २०७५ शनिबार १२:४:५९ | उमाकान्त पाण्डे

युएई – युएईले गैरकानुनी रुपमा आफ्नो देशमा बसेका विदेशी कामदारका लागि दिएको ४ महिने आममाफी प्रकृया सकिएको छ । गएको अगष्ट १ बाट सुरु भएको आममाफी प्रकृया शुक्रबारबाट सकिएको हो । 

आममाफीमा गैरकानुनी रुपमा बसोबास गरिरहेका नेपालीसहित अन्य देशका नागरिकलाई वैधानिक बन्न अथवा आवश्यक कानुनी प्रकृया पूरा गरी आफ्नो देश फर्किन अवसर दिइएको थियो ।

यो अवधीमा युएईमा रहेको नेपाली दूतावाससहित बिभिन्न देशका दुतावास तथा कन्सुलेटहरुले घुम्ती सेवा मार्फत गैरकानुनी रुपमा रहेका आफ्नो देशका नागरिकले वैधानिक बन्न वा आममाफी प्रक्रियामा सहभागी हुन सहयोग गरेका थिए । 

युएईमा अवैधानिक भएर बसेका विदेशी नागरिकलाई दिइएको ३ महिनाको आममाफी प्रकृयालाई गएको अक्टोबर ३० बाट एक महिना लम्बाइएको थियो । आममाफी प्रकृया सकिएकाले शनिबारबाटै अबैध कामदार भेटिए कडा कारबाही गरिने युएईको नागरिकता पहिचान सम्बन्धी संघीय प्राधिकरणले जनाएको छ ।

१ हजार नेपाली घर फर्किए, बैधानिक बन्ने धेरै 

भिसाको अवधि सकिएर बसेका, आएको कम्पनी छोडेर भागेर बसेका, भिजिट भिसामा आएर ओभरस्टे भएका, राहदानी नभएर अवैधानिक भएका नेपाली आममाफी प्रकृयामा सहभागी भए ।

गम्भिर प्रकृतिको मुद्दा लागेका तथा मुद्दाको फैसला नभएका आप्रवासी भने आफ्नो देश फर्किन पाएनन् । गैरकानुनी रुपमा बसेका नेपालीलाई युएईमा रहेको नेपाली दूतावासले ट्राभल डकुमेन्ट उपलब्ध गराएर सहजिकरण गरेको थियो । 

आममाफीको १ सय २० दिनमा दूतावास मार्फत १ सय ४५ जनाले राहदानी बनाएर आममाफी प्रकृयामा सहभागी भएका छन् । यसरी राहदानी बनाउने धेरै जनाले जागिर खोज्ने प्रयोजनको ६ महिने भिसा लगाएका छन ।

यस्तै १ सय ८८ जनाले यात्रा अनुमत्री पत्र अथवा ट्राभल डकुमेण्टु बनाएर नेपाल फर्किएको दूतावासको राहदानी फाँटमा कार्यरत तृतीय सचिव केशबराज पोखरेलले उज्यालोलाई जानकारी दिनुभयो । आममाफी प्रकृयामा सहभागी हुनेमा पुरुषभन्दा महिलाको सख्या धेरै रहेको दूतावासको भनाइ छ ।  

धेरै जसो नेपालीले वैधानिक बन्न चाहेर सोही अनुसार प्रकृया गरेको आबुधाबीमा रहेको नेपाली दूतावासले जनाएको छ । यो प्रकृया मार्फत नेपाल फर्केका नेपालीको यकिन तथ्याङ्क भने दूतावासलाई प्राप्त भएको छैन । तर पनि झण्डै १ हजार नेपाली यो प्रकृयामा सहभागी भएको दूतावासको भनाई छ । 

गैरकानुनी रुपमा बस्नेमा सबैभन्दा थोरै नेपाली, बङ्लादेशी नागरिक २० हजार भन्दा धेरै

आममाफीले गैरकानुनी रुपमा बस्ने कामदारमा नेपाली कामदार सबैभन्दा थोरै पाइएको युएईको अध्यागमन विभागले जनाएको छ । आबुधाबीमा रहेको बङ्लादेशको दूतावासका अनुसार २० हजार राहदानी दुतावास मार्फत जारी गरिएको छ ।

यस्तै अझैपनि राहदानी प्रिन्ट भएर आउन बाँकी भएकाले कतिपयले पक्रिया पूरा गर्न नपाएको युएईमा रहेको बङ्लादेशी दूतावासले जनाएको छ । युएईले ६ बर्ष अघिबाट बङ्लादेशबाट कामदार ल्याउन रोकेको छ ।

युएईले बङ्लादेशबाट नयाँ कामदार ल्याउन बन्द गरेको र पुराना भिसा नविकरण गर्न छोडेपछि गैरकानुनी रुपमा काम गर्ने कामदारको सख्या बढेको हो । नेपाली नागरिकको हकमा भने वैधानिक बन्न चाहने वा आममाफी प्रकृयामार्फत नेपाल फर्किन चाहने कोही पनि नेपाली नछुटेको नेपाली दूतावासको दावी छ ।

युएईले आममाफी प्रकृया सुरु गरेसँगै दुतावासले परराष्ट्र तथा राहदानी विभागसँग समन्वय गरेर प्रक्रियामा सहयोग गर्न आग्रह गरेको थियो । नेपाल सरकार, पररास्ट्र तथा राहदानी विभागले युएई सेक्टरबाट आउने एमआरपी प्रिन्ट गरेर सातदेखि १० दिनभित्र युएई पुर्‍याएर वितरण गर्न सहयोग गरेकोले थप सहज भएको कार्यबहाक राजदूत सागरप्रसाद फुयाँलले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: चैत २९, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया