र्‍याफ्टिङमा सरर तमोर नदीमा (फोटो फिचर)

 मंसिर १५, २०७५ शनिबार १४:५९:११ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – सम्भाव्यता अध्ययन गरी नेपाल सरकारले र्‍याफ्टिङ सञ्चालनको लागि अनुमति दिएको १६ वर्ष वर्षपछि तमोर नदीमा जलयात्रा अर्थात र्‍याफ्टिङ सेवा सुरु भएको छ ।

पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका २ र ४ को सीमावर्ती क्षेत्र पिसानीघाटदेखि तेह्रथुम–पाँचथर सीमावर्ती क्षेत्र माझिटारसम्म तमोर र्‍याफ्टिङ सेवा सुरु भएको हो ।

सन् १९९७ मा ताप्लेजुङको दोभानदेखि सुनसरीको चतरासम्म जलयात्राको लागि तमोर नदीमा सर्बे भएको थियो । सर्बे टोलीको प्रतिवेदनको आधारमा सन् २००२ सरकारले जलयात्राको अनुमति दिएको नेपाल एशोसियन अफ र्‍याफ्टिङ एजेन्सीका पूर्व अध्यक्ष गोपाल खरेलले बताउनुभयो ।

सरकारले अनुमति दिए पनि विदेशी पर्यटकहरुले कहिलेकही र्‍याफ्टिङ गर्नु बाहेक र्‍याफ्टिङ सेवा व्यावसायिक रुपमा सञ्चालन हुन सकेको थिएन् । फिदिममा रहेको तमोरभ्याली ट्राभल्स टुर एण्ड ट्रेकिङ प्रालिले व्यावसायिक रुपमा र्‍याफ्टिङ सेवा सुरु गरेको हो ।

एड्भेन्चर रिभर ट्रेल्सको प्राविधिक सहयोगमा र्‍याफ्टिङ सेवा सञ्चालनमा ल्याइएको प्रालिका प्रबन्ध निर्देशक दीपेन्द्र तुम्बापोले बताउनुभयो । गाइड राजन थापा मगरको नेतृत्वमा र्‍याफ्टिङ सेवा प्रदान गरिँदै आएको तुम्बापोको भनाइ रहेको छ । अहिलेलाई दशजना क्षमताको बोटमार्फत हरेक दिन एकपटक र्‍याफ्टिङ गराइँदै आइएको छ ।

फिदिमदेखि मेची राजमार्ग हुँदै हिलिहाङ–१, भालुचोकदेखि कच्ची बाटो भएर पिनासीघाट पुगिन्छ । फिदिम–पिनासी ६१ किलोमिटर र माझिटार–फिदिम दश किलोमिटर यातायात सेवा पनि प्रालिले नै दिँदै आएको छ ।

यातायात र र्‍याफ्टिङ गरी प्रतिव्यक्ति तीन हजार रुपैयाँ टिकट लिँदै आएको प्रबन्धक तुम्बापोले बताउनुभयो ।


 

अन्तिम अपडेट: चैत १६, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया