चिसो बढ्दै छ मनाङमा (फोटो फिचर)

 मंसिर १५, २०७५ शनिबार १५:१७:४ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – आफैँमा चिसो हावापानी हुन्छ, हिमाली क्षेत्रमा । मंसिर महिनाको सुरुवातसँगै हिमाली जिल्ला मनाङमा पनि बिस्तारै चिसो बढ्न थालेको छ । 
प्रायः बाह्रै महिना मनाङमा जाडो हुन्छ । विशेषगरी हरेक वर्ष मंसिर, पुस र माघ महिनामा यहाँ बढी जाडो हुन्छ । यस समयमा जिल्लाका विभिन्न ठाउँमा हिउँ पर्छ ।

मनाङमा अहिले बिहान र बेलुकाको समयमा अति जाडो हुन थालेको छ । यो समयमा बजार तथा बाटोहरुमा मानिसहरुको चहलपहल घटेको छ ।    

हिउँसँग खेल्न पाउँदा रमाउँछन् पर्यटक

स्थानीय सञ्चारकर्मी नेगमका अनुसार मनाङमा चिसो बढे पनि मनाङसम्म आउने पर्यटकको संख्या बढ्दो छ । जाडो महिनामा हिउँसँग खेल्न, रमाउन पाउने भएकाले पनि चिसो मौसममा पर्यटकहरु मनाङसम्म पुग्छन् । 

मंसिर, पुस र माघ महिनामा जाडो छल्नका लागि स्थानीयहरु देशका विभिन्न ठाउँमा पुग्ने गर्दछन् ।

मनाङ–चामेका सन्तोष लामाका अनुसार जिल्लाको माथिल्ला भेगहरुमा हिउँ पर्न सुरु भइसकेको छ । तल्लो क्षेत्रमा भने हालसालै खासै हिउँ पर्दैन । 
बिस्तारै तल्लो भेगहरुमा पनि हिउँ पर्न सुरु हुने लामा बताउनुहुन्छ । माथिल्ला भेगहरुमा हिउँ पर्न थालेसँगै तल्लो भेगहरुमा चिसो बढ्दै गएको स्थानीयहरु बताउँछन् ।

खर्क सार्ने तयारी

माथिल्ला भेगमा रहेका खर्कहरुबाट घरपालुवा पशु जिल्लाको तल्लो भेगहरुमा सार्ने तयारीमा किसानहरु जुटेको पनि नेगमले बताउनुभयो ।

‘अबका तीन महिना माथिल्ला भेगहरुमा हिउँ पर्छ । अति जाडो हुन्छ । घाँस पूरै हिउँले पुर्छ । त्यसैले माथिल्लो भेगमा रहेका खर्कबाट किसानहरु घरपालुवा पशु तल्लो भेगमा सार्ने तयारीमा जुटिसकेका छन्,’ नेगमले थप्नुभयो ।

यस क्षेत्रका किसानहरुको माथिल्लो भेग र तल्लो भेगमा गरी २ गोठ रहेका हुन्छन् । चिसो बढेसँगै माथिल्लो भेगमा रहेका खर्कबाट किसानहरुले घरपालुवा पशु याक, चौँरी, च्याङ्ग्रा र भेडाबाख्रा जिल्लाको तल्लो भेगमा रहेका तालगाउँ, धारापानी, दानाक्यू लगायतमा ठाउँमा सार्ने गर्दछन् ।

तीन महिने हिमपातबाट जोगिन दाउरा संकलन    

मंसिर, पुस र माघ महिना मनाङमा हिमपात हुने भएकोले स्थानीय चिसो मौसम सुरु हुनुअगावै दाउरा संकलनमा जुट्छन् ।

होटल व्यवसायीहरुले कामदार लगाएरै दाउरा संकलन गर्छन् । यो समयमा जिल्लामा रहेका विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थामा काम गर्ने कर्मचारीहरुले स्थानीयबाट दाउरा खरिद गर्छन् ।     

स्थानीयका अनुसार स्थानीयबासी तथा कर्मचारीहरुलाई आफ्नो व्यक्तिगत उपयोगको लागि दाउरा संकलन गर्नको लागि कुनै समस्या छैन । कर्मचारीहरु कार्यालयकै कामकाजमै व्यस्त हुने भएकाले दाउरा संकलन गर्न भ्याउदैनन् ।

त्यसैले विभिन्न कार्यालयका कर्मचारीहरुले स्थानीयबाटै दाउरा खरिद गर्छन् ।   
दाउरा संकलन गर्नेहरुले नियम अनुसार शुल्क तिरी दाउरा संकलन गर्नुपपर्ने चामेकी धनमाया विकले बताउनुभयो । 

‘शुल्क तिरी दाउरा जम्मा गर्छौँ । दाउरा बेच्दा प्रतिभारी १५० रुपैयाँ लिन्छाैं । एक चट्टा दाउरा घरसम्म पुर्याइदिएको  १०,००० रुपैयाँ लाग्छ,’ उहाँले भन्नुभयो ।    
हरेक गाउँपालिकाले दाउरा संकलनको लागि स्थानीय स्तरमै दाउरा संकलन समिति गठन गर्छ । दाउरा सकंलनसम्बन्धी आवश्यक नीति–नियम बनाइन्छ ।   

‘समितिको रोहवरमा मात्रै दाउरा संकलन हुने गर्दछ,’ चामे गाउँपालिकास्तरीय दाउरा संकलन समितिकी अध्यक्ष अनिता लामाले भन्नुभयो । 
चिसो समयमा स्थानीयले आगो ताप्नका लागि दाउराको उपयोग गर्छन् ।    
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया