ए डिभिजन लिग: मनाङ मर्स्याङ्दी क्लब शीर्ष स्थानमा फर्कियाे

 मंसिर १५, २०७५ शनिबार १६:३९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब शीर्ष स्थानमा फर्किएको छ ।

मनाङ लगातार ५ खेल जित्दै १५ अंकका साथ शीर्ष स्थानमा फर्किएको हो । शुक्रबार थ्री स्टार विजयी हुँदै गोल अन्तरका आधारमा शीर्ष स्थानमा फर्किएको थियो । तर मनाङले पाँचौ चरणको खेलसम्म आफूलाई अपराजित राख्दै शीर्ष स्थानमा उक्लिएको हो ।

एपीएफ मैदान हलचोकमा शनिबार भएको दोस्रो खेलमा मनाङले सातौ स्थानको सरस्वती युवा क्लबमाथि २–० को जित निकाल्न सफल भयो । पहिलो हाफमा आधा दर्जन प्रहार विफल हुँदा अग्रता लिन असफल देखिएको मनाङले सबै गोल दोस्रो हाफमा गरेको हो । मनाङको जितमा अन्जन विष्ट र अफिज वलावालेले एक एक गोल गर ।

खेल शुरु भएको छैटौं मिनेटमा अफिज वलावालेको उत्कृष्ट प्रहार बाहिरिएको थियो । सातौ मिनेटमा मनाङले फ्रि कीक पाए पनि सदुपयोग गर्न सकेन । १० औं मिनेटमा वलावालेको प्रयास फेरि विफल भएको थियो ।

सरस्वतीमाथि लगातार मुभ बनाएको मनाङले गोल गर्न भने असफल भयो । १८औं मिनेटमा अन्जन विष्टले दिएको पासलाई वलावालेले कलेक्ट गर्न सकेनन् । ४२ औं मिनेटमा मनाङका कमल श्रेष्ठले पनि मौकाको सदुपयोग गर्न नसक्दा पहिलो हाफमा मनाङले अग्रता लिने मौका गुमाएको थियोे । 

पहिलो हाफमा गोल सम्भव नभएपनि ५५ औं मिनेटमा अन्जन विष्टले उत्कृष्ट बल प्रहार गर्दै गोलमा परिणत गरे पछि मनाङले अग्रता लिन सफल भएको थियो ।
६८औं मिनेटमा आफिज वलावालेले गोल गर्दै मनाङको अग्रता दोब्बर बनाए । त्यसपछि लगातार सरस्वतीमाथि दबाब बनाए पनि मनाङले थप गोल नगरे पनि अन्ततः २–० को जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लन सफल भयो

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया