वडा अध्यक्ष कारागार चलान

 जेठ २९, २०७५ मंगलबार १९:२३:४६ | बालकुमार शर्मा

जाजरकोट – जाजरकोटमा एकजना वडा अध्यक्षलाई सार्वजनिक अपराधमा दोषि ठहर भएको भन्दै प्रहरीले पक्राउ गरी जेल चलान गरेको छ ।

झण्डै डेढ वर्षअघि उनकै गाँउमा भएको एक घटनामा दोषि ठहर्याइएका भेरी नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष नीमबहादुर भनारीलाई मंगलबार दिउँसो जाजरकोट सदरमुकाम खलंगाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । कार्यपालिकाको बैठकमा आएका भनारी खलंगाबाटै पक्राउ परेको भेरी प्रहरीले जनाएको छ  ।

भेरी नगरपालिका–१२, का शितला रावतले २०७३ साल फागुन १७ गते मदिरा सेवन गरेर आफूलाई खुकुरी देखाई ज्यान लिने धम्की दिएको र गाली गलौज गरेको भन्दै सार्वजनिक अपराध अन्र्तगत कारबाही गरी पाउँ भनि स्थानीय प्रशासन समक्ष जाहेरी दिएको आधारमा नीमबहादुरलाई दोषि ठहर गरी कारागार चलान गरिएको हो ।

तेतिबेला प्रहरीले उनलाई खुकुरीसहित पक्राउ गरेको स्थानीयले बताएका छन् । पक्राउ परेका भनारी तेतिखेरै १० दिन प्रहरी हिरासतमा बसेर तारेखमा छुटेका थिए । तेखिखेर भएको घटना वडा अध्यक्ष भएको झण्डै एक वर्ष पुग्न लाग्दा गएको वैशाखमा फैसला गरिएको थियो ।

गएको वैशाख १० गते तत्कालिन जाजरकोटका प्रमुख जिल्ला अधिकारी (सीडीयो) पुष्पराज शाहीले वडा अध्यक्ष भनारीलाई दोषी ठहर्याउँदै  एक महिना  १० दिन कैद र छ हजार रुपैयाँ जरिवाना सुनाएका थिए ।

फैसलामा चित्त नबुझेपछि सम्बन्धीत पक्षले फैसलाको ३५ दिन भित्र पुनरावेदनका लागि निवेदन दिन सकिने कानूनी प्रावधान भए पनि त्यो समयमा पुनरावेदनका लागि पहल नभएको र  समय बितेपछि जाजरकोट प्रहरीले फैसला कार्यान्वयन गर्न वडाध्यक्ष भनारीलाई पक्राउ गरिको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले जानकारी दिनुभयो ।

भनारी तत्कालिन समयमा हिसातमा बसेको १० दिन कटाएर उनले अब एक महिना कारागारमा बस्नु पर्ने सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताउनुभयो  । भनारी तत्कालिन एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन् ।  

अन्तिम अपडेट: चैत ५, २०८०

बालकुमार शर्मा

बालकुमार शर्मा जाजरकोटका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया