कांग्रेस संघीयता विरोधी अभियानमा लागेको छ : प्रचण्ड

 मंसिर १५, २०७५ शनिबार १८:४:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संघीयता विरोधी अभियानमा लागेको आरोप लगाउनुभएको छ ।

वामपन्थी नेता वामदेव क्षेत्रीले लेखेको ‘नेपालको अर्थ राजनीतिः संभावना र चुनौती’ विषयक पुस्तकको शनिबार काठमाडौंमा लोकार्पण गर्दे अध्यक्ष दाहालले कांग्रेस ऐतिहासिक परिर्वतनलाई भत्काउन लागि परेको आरोप लगाउनुभएको हो ।

राजनीतिक परिर्वतनलाई संस्थागत गर्दै जाँदा केही अप्ठ्याराहरु आउनु स्वभाविक भएको भन्दै उहाँले त्यसैलाई बहाना बनाएर कांग्रेस संघीयता विरोधी बाटोमा हिँडेको दाबी गर्नुभयो ।

अध्यक्ष दाहालले अतिवादलाई प्रोत्साहित गर्ने र परिर्वतनलाई कमजोर पार्ने डिजाइनमा काम भइरहेको दाबी पनि गर्नुभयो । प्राप्त उपलब्धिलाई संरक्षण गर्नुभन्दा प्रहार गर्ने तत्व बढ्दै गएको भन्दै उहाँले परिर्वतनकामी कम्युनिष्टहरुबीच अझै गम्भीर ढंगले एकता गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

राजसंस्था फर्काउन लागेकाहरुको दुश्साहस आफूहरुका लागि चुनौतीपूर्ण रहेको भन्दै उहाँले त्यसतर्फ पनि सजग हुनुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया