स्मार्ट बस साँच्चिकै ‘स्मार्ट’ छन् त ?

 मंसिर १६, २०७५ आइतबार ९:३७:४३ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाडौं – सधैं माइक्रोबसमा चढेर क्याम्पस आउजाउ गर्ने गोंगबुका नवल केसीलाई स्मार्टबस चल्ने कुराले हर्षित बनायो । उहाँलाई लागेको थियो–स्मार्टबस भनेपछि सजिलोसँग यात्रा गर्न पाइन्छ, बस्नको लागि पर्याप्त र आरामदायी सीट हुन्छ, इन्टरनेट चलाउन पाइन्छ, अनि अपाङ्गमैत्री तथा सामान्य बसभन्दा विशेष किसिमको हुन्छ । 

तर स्मार्ट बस चढेको पहिलो दिनमै उहाँले सोचेजस्तो केही पाउनुभएन । बस्नको लागि पर्याप्त सिट नभएको, बसभित्र ठेलम्ठेल यात्रुहरु भरेको दृश्यले उहाँलाई लाग्यो, यो भन्दा त बरु माइक्रोबस नै ठीक ।

‘नामका मात्र स्मार्टबस हु्न, कमसेकम सामान्य बसहरुको जति त सुविधा हुनुपर्ने हो नि’ उहाँले भन्नुभयो, ‘यहाँका स्मार्ट भनिएका बसहरु देख्दा गाउँघरमा चियापसल बाहिर ‘होटल एण्ड लज’ लेखेको झल्को आउँछ ।’

ललितपुरकी हिरा पहरी जन्मजात नै दृष्टिविहीन हुनुहुन्छ । सार्वजनिक बसमा यात्रा गर्न समस्या हुनेगरेको उहाँले दुखेसो पोख्नुभयो । स्मार्टबस कहलिएका अपाङ्गमैत्री बसमा पनि चढ्नै समस्या हुन गरेको उहाँ बताउनुहुन्छ । ‘अपाङ्गमैत्री भनेको कस्तो हुन्छ, मैले त अनुभव पनि गरेकी छैन’ उहाँले भन्नुभयो ।
काठमाडौंमा स्मार्ट भनेर चल्ने बसको संख्या धेरै छ । तर सबै बसमा भएका सुविधा भने सामान्य बसको भन्दा खासै फरक छैन । भिडभाड, धुलोधुवाँ नछेक्ने झ्यालढोका, नाम मात्रका वाइफाई आदि । 

के भन्छन् व्यवसायी ?

नेपाल राष्ट्रिय यातायात महासंघका महासचिव सरोज सिटौला स्मार्टबसबारे आफू अनविज्ञ भएको बताउनुहुन्छ । महासंघका उपाध्यक्ष विजयबहादुर स्वाँर भन्नुहुन्छ, ‘प्रदुषणरहित, इन्टरनेट र डिजिटल प्रणाली भएको, अपाङ्गमैत्री बस नै स्मार्ट बस हो ।’

उहाँको विचारमा काठमाडौंमा स्मार्ट बस सञ्चालनमा आएकै छैनन् । अहिले लुम्बिनी कोषबाट साझाले सञ्चालनको लागि पाएका पाँचओटा बिजुलीबस मात्र स्मार्ट बस भएको उहाँ बताउनुहुन्छ । 

दिगो यातायात प्रालिका सचिव लालप्रसाद गुरागाईं भने आफूहरुको बस स्मार्ट नै भएको दावी गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘बसमा चढ्न आएका यात्रुहरुलाई ठाउँ छैन नचढ भन्न भएन, सबैको मर्र्का उस्तै हो । बसमा ठेलम्ठेल हुन्छ त के गर्ने ?’ उहाँले थप्नुभयो, ‘अनि रह्यो वाईफाईको कुरा, उभिन मान्छेले ठाउँ नै पाएको हुँदैन, कसले चलाउँछ वाईफाई ?’ 

तर भनेअनुसारको सेवा दिनु व्यवसायीको दायित्व हो । तर कसले के सुविधा तोक्छ र कस्तो सेवा दिन्छ भन्नेमा सरकारी पक्षबाट समेत अनुगमन भएको पाईंदैन । साझा यातायातका निर्देशक भुषण तुलाधर भन्नुहुन्छ, ‘सरकारी तवरमा यस विषयमाथि निगरानी हुन एकदमै आवश्यक छ । नत्र व्यवसायीहरुको झुटो विज्ञापनमा सर्वसाधारणहरु फस्ने छन् । यसले सम्पूर्ण यातायात व्यवसायमा पनि गलत प्रभाव पर्न जान्छ ।’

के भन्छ सरकारी निकाय ?

यातायात व्यवस्था विभागमा स्मार्टबस भनेर अलग्गै दर्ता गर्ने कुनै पनि प्रक्रिया छैन । अहिलेसम्म दर्ता भएका सबै बसहरु रुट पर्मिटको आधारमा मात्र दर्ता हुने गरेको विभागका सूचना अधिकारी गोकर्ण उपाध्यायले बताउनुभयो । 

‘डिलक्स बसहरुमा एसी बस लेखेर महंगो भाडा असुल्ने व्यवसायीहरुलाई त कारबाही गर्ने गरेका छौं, तर स्मार्ट बसको बारेमा भने त्यस्तो कुनै पनि निर्णय भएको छैन’ उहाँले भन्नुभयो, ‘आवश्यक पर्यो भने यसमा पनि सरकारको ध्यान जानेछ ।'

सरकारी पक्षबाट नै दर्ता प्रक्रियामा सामान्य बस र स्मार्ट बस भनेर नछुट्याएका कारण यो नै स्मार्ट बस हो र यति नै स्मार्ट बस छन् भन्न नसकिने उपाध्यायले बताउनुभयोे । 


 

अन्तिम अपडेट: चैत १४, २०८०

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया