‘सिंहदरबारमा घाम तापेर र गफ चुटेर समय बिताउने दिन गए’

 मंसिर १६, २०७५ आइतबार १२:३०:४८ | नवराज फुयाँल
unn.prixa.net

काठमाडौं - बिहीबार युवा तथा खेलकुद मन्त्रालय पुग्दा मन्त्रालयका उपसचिव महेन्द्र पौडेल युवा सरोकारका विषयमा प्रदेश स्तरीय योजना तयार पार्दै हुनुहुन्थ्यो । 

जतिसक्दो छिटो योजनाहरु बनाएर प्रदेशमा पठाउनुपर्ने भएकाले दिनभर खटेर विभिन्न प्रदेशबाट आएका सुझाव समेट्दै प्रदेश स्तरीय योजना निर्माणलाई अन्तिम रुप दिन लागिएको पौडेलले बताउनुभयो ।

पौडेल जस्तै शहरी विकास मन्त्रालयका सचिव डा.रमेशप्रसाद सिंह पनि मन्त्रालयले हिमाली जिल्लामा गर्ने भनेको बस्ती विकास कार्यक्रमलाई कसरी अगाडि बढाउने भन्ने कार्ययोजना अध्ययनमा व्यस्त हुनुहुन्थ्यो । 

शहरी विकास मन्त्रालयले बस्ती विकास कार्यक्रम अन्तर्गत विभिन्न १६ वटा हिमाली जिल्लाका विभिन्न स्थान पहिचान गरेर अध्ययन अगाडि बढाइरहेको छ । जस अन्तर्गत सिमिकोट, जिरी, ओलाङ्गचुङगोला जस्ता ठाउँ पहिचान भएको र अध्ययनको काम भइरहेको सचिव सिंहले बताउनुभयो ।  

अहिले सबै मन्त्रालयले यसैगरी केन्द्रबाट गर्नुपर्ने ऐन, नीति निर्माण तथा सोझै विकास गर्न सक्ने विकासका परियोजनाका बारेमा अध्ययन गर्नुका साथै योजना कार्यान्वयनलाई कसरी अगाडि बढाउने भन्नेबारे तयारी तीव्र पारेका छन् ।

धमाधम काम हुँदै  

प्रधानमन्त्री केपी शर्मा ओलीको सकृयताले आफूहरुमा पनि काम गर्ने उत्साह बढेको शहरी विकास मन्त्रालयका सचिव सिंह बताउनुहुन्छ । ‘पहिले कामै नगरे पनि फाइलमा प्रतिवेदन बनाइएका उदाहरण थिए होलान्,’ उहाँले भन्नु भयो, ‘तर अहिले अवस्था फेरिएको छ, काम नगरी सुखै छैन ।’

मन्त्रालयले अहिले तराईका २१ वटा सदरमुकामहरूलाई पुनर्संरचना गर्ने कामलाई अन्तिम चरणमा पुर्याएको पनि सचिव सिंहले सुनाउन भ्याउनु भयो । मेगा सिटी र स्मार्ट सिटीबारे अध्ययन भइरहेको र त्यसको प्रतिवेदन पनि छिट्टै तयार पारिसक्ने गरी काम भैरहेको उहाँको भनाई छ । 

संघीयता कार्यान्वयनको चरणमा अघि बढेको र मन्त्रालयले बनाउनु पर्ने योजनाहरु बनाउन ढिलाई हुँदा प्रदेशमा काम गर्न कठिन भएको भन्ने गुनासा बढीरहेकाले जति सक्दो चाँडो प्रतिवेदन तयार पारेर प्रदेशमा पठाउने युवा तथा खेलकुद मन्त्रालयका उपसचिव पौडेल बताउनुहुन्छ ।  

हरेक मन्त्रालयको प्रगति विवरण अहिले प्रधानमन्त्रीले आफ्नै कार्यकक्षमा बसेर अनुगमन गर्ने प्रविधि विकास भएसँगै काम गर्न आफूहरुलाई पनि प्रेसर बढेको पौडेलले बताउनुभयो ।  

पहिलो चौमासिक समिक्षामा अधिकांस मन्त्रालयहरुले लक्ष्य अनुसारको काम भेट्टाउन नसकेपछि प्रधानमन्त्रीले यो वा त्यो बहानामा काम नअड्काउन निर्देशन दिएकाले मन्त्रालयहरु लक्ष्य अनुसारको काम गर्न कस्सिएका हुन् । 

अर्को चौमासिक समिक्षामा अहिले गएको चौमासको अपूरो काम पूरा गर्नु पर्ने र चालु चौमासको शत प्रतिशत काम गर्नुपर्ने चुनौती मन्त्रालयमाथि परेको छ । 
त्यसैले अहिले एक छिन पनि नभनी आफूहरु काममा लागिपरेको उपसचिव पौडेल बताउनुहुन्छ । 

‘सिंह दरबारमा घाम तापेर र गफ चुटेर समय बिताउने दिन गए,’ कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका एक कर्मचारी  भन्छन्, ‘अब काम नगरे मूल्यांकन पनि त्यसै अनुसारको हुने भएर सचिवहरु काममा भिडेका हुन् ।’  

मन्त्रालयको काममा प्रधानमन्त्रीको अनुगमन  

दुई तिहाई बहुमत रहेको कम्युनिष्ट नेतृत्वको सरकारको काम अपेक्षा अनुरुप नभएपछि स्वयं प्रधानमन्त्री नै मन्त्रालयका कामप्रति रुष्ट हुनुहुन्छ । मन्त्रालयले गर्ने कामको अनुगमन र मूल्याँकन स्वयं प्रधानमन्त्रीले नै गर्ने गरी अहिले सफ्टवेयर पनि तयार पारिएको छ । 

पोर्टल र मोबाइल एपबाट कुन मन्त्रालयलले के के गर्दै छ भनेर आफ्नै कार्यकक्षमा बसेर प्रधानमन्त्रीले सबै मन्त्रालयको अनुगमन गर्ने प्रणालीको विकास गरिएको छ ।  

यसले मन्त्रालयले लिएको लक्ष्य पूरा हुनुका साथै समग्रमा सरकारको सफलता जोडिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव विनोदबहादुर कुँवर बताउनुहुन्छ ।

सरकारले नीति कार्यक्रम ल्याएपछि मन्त्रालयहरूले गर्ने भनेका कामहरूको विवरण समेटेर पोर्टलमा राखिएको छ । एपमा ८० प्रतिशत बढी काम सकेका मन्त्रालयलाई हरियो, ८० प्रतिशतसम्म काम गरेकालाई पहेँलो र ५० प्रतिशतभन्दा कम काम गरेका मन्त्रालयलाई रातो चिन्ह दिने व्यवस्था गरिएको छ । 

हरियो चिन्ह आएको मन्त्रालयको काम राम्रो, पहेँलो चिन्ह आएको मन्त्रालयको काम सन्तोषजनक र रातो चिन्ह आएको मन्त्रालयको काम ठीक नभएको बुझाउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले बताउनुभयो । 

‘पहिलो चौमासिक समिक्षामा कुनै पनि मन्त्रायले लक्ष्य भेट्टाउन सकेनन्,’ उहाँले भन्नुभयो, ‘त्यसैले अबको चौमासमा भने सबै मन्त्रालयको हरियो चिन्ह आउने गरि काम गर्न प्रधानमन्त्रीबाट निर्देशन भएको छ ।’

अन्तिम अपडेट: चैत १६, २०८०

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया