ललित स्मृति यू–१८ प्रतियाेगिता : पहिलाे दिन एनआरटी र त्रिभुवन आर्मी क्लबलाइ सफलता

 जेठ २९, २०७५ मंगलबार २०:३०:५ | उज्यालो सहकर्मी

ललितपुर – ललित स्मृति यू–१८ प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार न्युरोड टिम एनआरटीले मछिन्द्र क्लबलाई पराजित गरेको छ ।

अखिल  नेपाल फुटबल संघ एन्फाका तत्कालीन कार्यबाहक अध्यक्ष ललितकृष्ण श्रेठको स्मृतिमा  आयोजना गरिंदै आएको प्रतियोगिताको तेस्रो संस्करण मंगलबारदेखि ललितपुरमा सुरु भएको हो ।
 
एन्फा मैदानमा भएको खेलमा एनआरटीले मछिन्द्र क्लबलाई ३–१ गोलअन्तरको हरायाे। त्यस्तै मंगलबारै भएको अर्को खेलमा आर्मीले सरस्वतीलाई ४–० ले हरायो ।

मंगलबारकोे पहिलो खेलमा एक शून्यको अग्रता जोगाउन नसक्दा मछिन्द्र एनआरटीसँग पराजित भएको हो । 

पहिलो हाफको सातौं मिनेटमै शरद राईको गोलमार्फत मछिन्द्रले अग्रता लिए पनि एनआरटीका साहिल केसीले ३० औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
 
त्यसको २ मिनेटपछि विशाल क्षेत्रीले एनआरटीलाई २–१ को अग्रता दिलाए । पहिलो हाफको इन्ज्यूरी समयमा निर्मल घिसिङले अग्रतालाइ तेब्बर बनाए ।

दोस्रो हाफमा दुवै टोलीबाट गोल हुन सकेन र खेल एनआरटीले ३–१ ले जित्यो ।
 
समूह ए अन्तर्गत नै मंगलबार भएको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबको युवा टोलीले सरस्वती क्लबलाई ४–० को फराकिलो अन्तरले हरायो ।
 
अपराह्न भएको खेलमा आर्मीका लागि  दिनेश हेम्जनले २ तथा सेसेहाङ आङदाम्बे र विवेक चौधरीले एक एक गोल गरेका थिए । 

एकपक्षीय खेलमा सरस्वतीलाई आर्मीले निक्कै दवावमा राखेको थियो ।
 
प्रतियोगितामा १८ टिमको सहभागिता छ भने प्रतियोगिता असार २१ गतेसम्म चल्नेछ । 
प्रतियोगिताको विजेताले ३ लाख तथा उपविजेताले २ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।
 
स्वर्गीय ललितकृष्ण श्रेष्ठको २०७२ साल जेठ २९ गते दुर्घटनामा परी निधन भएको थियो । उहाँको स्मृतिमा एन्फाले हरेक वर्ष जेठ २९ गतेदेखि यू–१८ प्रतियोगिता आयोजना गर्दै आएको छ । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया