६० दिनभित्र मेलम्चीको पानी काठमाडौं आइपुग्ने सचिवकाे दावी

 मंसिर १६, २०७५ आइतबार १७:२८:२० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाडौं – खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले ६० दिनभित्र मेलम्चीको पानी काठमाडौं आइपुग्ने दावी गर्नु भएको छ ।

सचिव ठाकुरले मेलम्चीको खानेपानी ल्याउने काममा कर्मचारीहरुलाई उत्साही बनाउने वातावरण बनाइदिन पनि संघीय संसदका सांसदहरुलाई आग्रह गर्नुभयो । आइतबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उहाँले ६० दिनभित्र सबै प्राविधिक काम सकेर मेलम्चीको पानी टनेलमा हाल्ने र त्यसको ६ दिनभित्र काठमाडौंको घरघरमा पानी पुर्‍याउने दावी गर्नुभयो ।

सचिव ठाकुरले दसैंमा मेलम्चीको पानी ल्याउने प्रतिवद्धता पूरा गर्न नसकेकोमा माफी समेत माग्नु भएको थियो । उहाँले सुरुमा मेलम्चीको पानी पुरानै संरचनाबाट वितरण गर्ने पनि स्पष्ट पार्नुभयो । महांकाल, नयाँ बानेश्वर, अनामनगर, बालाजु, पानी पोखरी र बाँसबारीमा रहेको पुरानै पानी टयांकीबाट पानी वितरणको काम सुरु गर्ने सरकारको योजना छ ।

सचिव ठाकुरले नयाँ संरचना तयार पार्ने क्रममा पाइपलाइन विस्तारको काम सक्न लागिसकेको उल्लेख गर्दै त्यसमा भने पानी परीक्षण गरेर मात्रै वितरण गर्ने योजना रहेको स्पष्ट पार्नुभयो । मेलम्चीको पानी वितरणका लागि झण्डै एक हजार किलोमिटर पाइपलाइन विस्तारको काम सम्पन्न हुने चरणमा रहेको छ । सचिव ठाकुरले सुरुका चार महिना भने पुरानै संरचनाबाट पानी घरघरमा पुर्‍याउने र परीक्षण गर्दै नयाँ पाइपलाइनमा पनि पानी हाल्दै लैजाने योजना पनि समितिलाई जानकारी दिनुभयो ।

काठमाडौंमा पानी आएको ६ महिनाभित्र नयाँ संरचनाबाट घरघरमा मेलम्चीको पानीको व्यवस्था गर्ने सरकारको योजना छ । सचिव ठाकुरले मेलम्चीको पानी काठमाडौंमा वितरण सुरु भएपछि मात्रै त्यहाँका स्थानीय नागरिकले क्षतिपूर्तिवापत मागेको रकम उपलब्ध गराउने योजना पनि सार्वजनिक गर्नुभयो ।

उहाँले विगतमा भएका कमीकमजोरीका कारण सो खानेपानी काठमाडौं ल्याउने काममा ढिलाई हुन गएको दावी समेत गर्नुभयो ।

सचिवले ६० दिनमा मेलम्चीकाे पानी काठमाडाैं ल्याउने ठाेकुवा गरे पनि चैत्र मसान्त नसकिँदै पानी अाउन कठिन नै देखिन्छ ।

 

याे पनि पढ्नुहाेस्

मेलम्चीको पानी २०७५ सालभित्र काठमाडाैं नआउने पक्का

 

 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया