बाँदर पीडित किसानले बनाए समिति

 मंसिर १६, २०७५ आइतबार १७:४५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

खोटाङ – खोटाङका बाँदर पीडित किसानले बाँदर व्यवस्थापन समिति गठन गरेको छ । आइतबार दिक्तेलको हेलीप्याडमा भएको किसानले भेलाले दुर्गाप्रसाद घिमिरेको संयोजकत्वमा ७५ सदस्यीय बाँदर व्यवस्थापन समिति गठन गरेको हो ।

खेतबारीका अन्नबाली सखाप पारिदिने बाँदर नियन्त्रणको उपायको खोजीमा भेला भएका किसानले गठन गरेको समितिको उपाध्यक्षमा दिपक राई, सचिवमा ज्ञानप्रसाद ढुंगाना र कोषाध्यक्षमा अञ्चल राई चयन हुनुभएको छ । 

यसअघि पटक–पटक छलफल र भेला गर्दैआएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका दिक्तेल, बाम्राङ, खाल्ले, लफ्याङ, नेर्पा, दोर्पा चिउरी डाँडा, विजयखर्कलगायतका ठाउँका बाँदर पीडित किसान निर्णायक ‘एक्सन’ तयारीमा भेला भएका हुन् । 

बर्सेनि बाँदरले खेत बारीका अन्नबाली नष्ट पारिदिने भएकाले बाँदरलाई बन्दुकले हानेर मार्न पाउनुपर्ने वा अन्यत्र जंगलमा लगेर पु¥याउनुपर्ने किसानको माग छ । बाँदर नियन्त्रणका लागि आगामी माघमा बैठक बसेर स्थानीय सरकार समक्ष माग राख्ने निर्णय गरिएको बाँदर व्यवस्थापन समितिका अध्यक्ष घिमिरेले बताउनुभयो । 

खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, अलैंची, आलु, धान, मास, दाल, करेला, सुन्तला, कागती, केरा लगायतका बालीनाली सखाप बनाइदिने गरेका कारण किसान आजित छन् । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया