मन्त्री विना मगर बैठकमा उपस्थित नभएकाेमा पूर्व प्रधानमन्त्री खनाल असन्तुष्ट

 मंसिर १६, २०७५ आइतबार १८:११:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा खानेपानी मन्त्री विना मगर उपस्थित नभएकोमा असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

विकास तथा प्रविधि समितिको सदस्य समेत रहनु भएका वरिष्ठ नेता खनालले समितिको आइतबारको बैठकमा मन्त्री मगर उपस्थित नभएकोमा असन्तुष्टि व्यक्त गर्नु भएको हो । उहाँले समितिको बैठकमा बोल्दै संसद र संसदीय समितिलाई हल्का रुपमा नलिन पनि मन्त्री मगरलाई सचेत गराउनुभयो । मेलम्ची खानेपानीलगायतका सरकारका योजनाबारे जानकारी लिन विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री मगरलाई बोलाइएको थियो ।

तर उहाँको उपस्थिति नभएपछि समितिका सदस्यहरुले असन्तुष्टि व्यक्त गरेका हुन । कार्यपालिका र व्यवस्थापिकाको सम्बन्धलाई सुमधुर बनाउन पनि संसदीय समितिको बैठकमा मन्त्रीहरु अनिवार्य उपस्थित हुन उपयुक्त हुने वरिष्ठ नेता खनालको तर्क छ ।

वरिष्ठ नेता खनालले सरकारले खानेपानी व्यवस्थापनका लागि आवश्यक भिजन ल्याउन नसकेको भन्दै चिन्ता पनि व्यक्त गर्नुभयो । बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद रामबहादुर विष्टले पनि बैठकमा खानेपानी मन्त्री मगर उपस्थित नभएकोमा आपत्ति जनाउनुभयो ।

उहाँले मन्त्री उपस्थित नभए यस्ता बैठकहरु स्थगित गर्न पनि सभापति कल्याणी खड्काको गम्भिर ध्यानाकर्षण गराउनुभयो । मन्त्री मगरले दसैंअघि नै मेलम्चीको पानी काठमाडौंमा आउँछ भनेर झुटा आश्वासन दिएकोमा कांग्रेस सांसद विष्टको आपत्ति छ ।

सांसदहरुले मेलम्चीको पानी कहिले आउँछ ? मिति किटान गर्न पनि सरकारलाई सचेत गराएका थिए ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया