रौतहटमा एक बालकको हत्या, हत्यामा संलग्नहरुलाई सामाजिक बहिष्कार गर्ने गाउँलेको तयारी

 जेठ २९, २०७५ मंगलबार २०:४६:६ | मदन ठाकुर

रौतहट – रौतहटमा एक बालकको निर्मम हत्या भएको छ ।

रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ९ का दिलिप शाहका १२ वर्षका छोराको शनिबार राति हत्या भएको हो । बालककी अामा बिना साहले आफ्नो छोराको अपहरणपछि हत्या गर्नेलाई हदैसम्मको  सजायको माग गर्नुभएको छ ।

सुतिरहेको छोरालाई ओछ्यानबाट उठाएर गाउँभन्दा निकै टाढा बागमती नदीको सुनसान स्थानमा राखेर अपहरणकारीहरुले हात–खुटा भाँचेको, छातीको करंगहरु भाँच्नुको साथै शरीरको विभिन्न भागमा करेन्ट लगाएर आँखा फुटाएर कन्चटमा गोली हानी हत्या गरेको भन्दै हत्याराहरुलाई मृत्युदण्ड दिनुपर्ने उहाँको माग छ ।

‘छोरालाई तडपाई–तडपाई यातना दिँदा अलिकति पनि दया आएनन् त्यो पापीलाई’, आमा बिना रुँदै भन्नुहुन्छ, ‘कि छोराको सास चाहियो, नत्र मार्नेहरुको लाश चाहियो । अनि मात्र मेरो मन अलि शान्त हुन पाउँछ ।’

रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ९ डुमरिया गाउँ बस्ने दिलिप साहको १२ वर्षीय छोरा शनिदेवल भन्ने युवराज साहलाई सोही वडाका अध्यक्षको योजनामा निजका आफन्तहरुले शनिबार राति घरमा प्रवेश गरेर दुई दिदीको बीचमा मस्त निन्द्रामा सुतिरहेका बालकलाई उठाएर लगेका थिए ।

वडाध्यक्ष रामअज्ञा यादवको योजनामा उनका छोरा शक्ति यादवसहितका १२ जना व्यक्तिहरु प्रत्यक्ष रुपमा संलग्न रहेर बालक साहलाई उठाएर लगेको र आइतबार दिनभरी गढीमाई नगरपालिकाका नजिक खरघारीमा बालकलाई राखेर १ करोड फिरौतीको मागबाट ५ लाखमै सहमती गर्ने बताएर अपहरणकारीहरुले छोरालाई विभत्स हत्या गरेको बुवा दिलिप साहले बताउनुभयो ।

छोराको क्रिया बसेका दिलिप साहले हत्यामा वडाध्यक्ष रामअज्ञासँगै उनका भाईहरु रामबालक यादव, लालबाबु यादव र बारा जिल्लामा कार्यरत प्रहरी जवान होसनारायण यादवसहितका व्यक्तिहरुको संलग्नता रहेको आरोप लगाउनुभयो ।

घटना भएको दिन होसनारायण गाउँमै रहेको हुँदा हत्यामा प्रयोग भएको नलकटुवा बन्दुक र सोमा लाग्ने एसएलआरको गोली उनले नै दिएर सुनियोजित रुपमा घटना गराएको मृतक बालकका बुवा साहले बताउनुभयो ।

प्रहरीले वडाध्यक्ष रामअज्ञासहित उनका भाइहरु रामबाबु, लालबाबु, शक्ति यादव, बृन्दावन नपाको आकडपाकर टोलका रवी पटेल, विनोद पटेल, स्थानीय डुमरियाकै प्रविण यादव, सुनिल यादवसहित १२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

आइतबार राति प्रहरीले गरुडामा रहेको रामधेनी साहको घरमा सुतिरहेका अपराधिहरुलाई नियन्त्रणमा लिने क्रममा त्यही घरमा रहेका एक थान नलकटुवा पेस्तोल र सोमा लाग्ने एक थान एसएलआरको गोली नियन्त्रणमा लिएको छ ।

एसपी केसीका अनुसार अहिले पनि घटनाको गहन अनुसन्धान भइरहेको हुँदा सबै जानकारी आइसकेपछि बल्ल प्रेस मिट गरेर संचारकमीहरुलाई जानकारी गराउने प्रहरीको तयारी छ ।

बालक हत्यामा संलग्नहरुलाई गाँउमा हुँक्का पानी बन्द गाउँलेले तयारी गरेका छन् । वडाध्यक्ष यादवसहित हत्या योजनामा संलग्नको हुक्का पानी बन्द गर्ने स्थानीयबासिन्दाले छलफल चलाएका छन् । पीडक परिवारसँग समन्वय गरे बालक हत्यामा संलग्नहरुलाई गाउँबाट बहिस्कार गर्ने सर्वसहमति भएको स्थानीय ओमप्रकाश जयसवालले बताउनुभयो ।


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

मदन ठाकुर

रौतहटका पत्रकार मदन ठाकुर उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया