तरकारी खेतीबाटै वार्षिक १५ लाख आम्दानी

 मंसिर १७, २०७५ सोमबार १०:३९:१ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – जिल्लाको सुर्नया गाँउपालिका–६, मोतीनगर रौटेका पदमराज भट्टले तरकारी खेतीबाटै मनग्गे आम्दानी गरिरहनुभएको छ । उहाँ अहिले मोतीनगर क्षेत्रकै एक कुशल युवा उद्यमीको रुपमा स्थापित हुनुभएकाे छ । 

पछिल्लो समयमा युवाहरु विदेश गइरहेका बेला पदमले भने स्वदेशमा नै नाम र दाम कमाइरहनुभएको छ । मध्यम वर्गीय परिवारमा जन्मनुभएका पदमले भारतको देहरादुनबाट आइएस्सी पास गर्नुभएको हो । उहाँलाई बुवा कृष्णानन्द भट्टले पढ्नका लागि भारतको देहरादुन पठाउनुभएको हो । 

पदमका बुवा कृष्णानन्दलाई छोरालाई उच्च शिक्षा हासिल गराई राम्रो जागिर लागेको हेर्ने धोको थियो । तर आईएस्सी पास गरेर वि.सं २०७० सालमा घर फर्किएका पदमले तरकारी गरेर बस्ने भनेपछि घरपरिवार र गाँउलेहरु सबै अचम्मित भएर यस्ले के तरकारी खेती गरेर खान्छ भनेको कुरा उहाँले सम्झनुभयो । कतिले त उहाँलाई पढे लेखेर पागल भयो समेत भनेको उहाँले स्मरण गर्नुभयो ।

पदमराजले अहिले तरकारी खेतीबाटै वार्षिक १५ लाखभन्दा बढी कमाउनुहुन्छ । सुरुमा बुवाले पदमलाई खेतमा तरकारी लगाउन खेत समेत नदिएको उहाँले बताउनुभयो । 

मकै फल्ने खेतबारी तरकारी रोप्न नदिने भनेपछि पदमले बुवालाई ३ रोपनी जग्गा ३ हजार रुपैयाँ भाडा तिर्ने शर्तमा लिएको बताउनुभयो । उहाँले त्यो जग्गामा बन्दागोबी रोपेर त्यही बन्दागोभीबाट ५४ हजार रुपैयाँ आर्जन गरेको र बुवालाई भाडा तिर्न ३ हजार रुपयाँ लगेर गएपछि उल्टै बुवा कृष्णानन्दले काममा सफल भएको भन्दै खुसी भएर ३ हजार थपेर ६ हजार दिएको उहाँले बताउनुभयो ।

बुवाले थपेर दिएको पैसाले त पदमको हौसला झन् बढ्यो । पहिलो खेतीबाट राम्रो कमाई गरेका पदमले दोश्रो वर्ष ८ रोपनी जमिनमा बन्दा रोप्नुभयो । यसपाली उहाँलाई परिवारको पनि साथ मिल्यो । ५ महिनामै परिवारलाई ३ लाख रुपैयाँ दिएका पदमले तेश्रो वर्ष तरकारीबाटै ८ लाख रुपैयाँ आर्जन गरेको बताउनुभयो । 

हरेक वर्ष उहाँले बन्दा, काउली, टमाटर, मुला र पालुंगोलगायत सबै प्रकारको तरकारी उत्पादन गरेर बेच्न थालेपछि परिवारका सदस्यहरु खुशी छन् ।

तरकारी खेतीका साथै पदमले बाख्रापालन पनि गरिरहनुभएको छ । अहिले पदमले तरकारी खेती, बाख्रापालन व्यवसायबाट वार्षिक १५ लाख रुपैयाँ कमाई गर्नुहुन्छ। उहाँले खसी बेचेरै हरेक वर्ष १ लाखभन्दा बढी कमाउने गर्नुभएकाे छ । 

गएको वर्ष पदमले १ लाख २० हजार आर्जन गर्नुभयाे भने यो वर्ष १ लाख १० हजार कमाएको र अहिले पनि ३० वटाभन्दा बढी खसी–बाख्रा रहेको उहाँले बताउनुभयो । यही पेशा गरेर उहाँले जग्गा पनि किन्नुभएकाे छ । 

अहिले पदमको प्रगति देखेर गाँउका अरु पनि तरकारी पेसामा आवद्ध भएका छन् । पदमलाई नमूना उद्यमीको रुपमा विभिन्न कार्यक्रमहरुमा समेत बोलाउने गरिएको छ । धेरै कार्यक्रमहरुमा उहाँले आफ्नो कथा सुनाइसकेको बताउनुभयो । जिल्लाका विभिन्न ठाँउमा पुगेर आफूले जानेको र सिकेको सिप पनि सिकाइरहेको उहाँ बताउनुहुन्छ । 

आफूसँग इच्छाशाक्ति भएपछि  विदेश जान नपर्ने उहाँको अनुभव छ । मेहनत र लगनशील भएर काम गरे स्वदेशमै राम्रो पैसा कमाउन सकिने पदमले बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत १६, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया