कम उमेरका खेलाडी, जाे विश्वकपमा डेब्यू गर्दैछन्

 जेठ ३०, २०७५ बुधबार ७:१७:५० | उज्यालो सहकर्मी

विश्व फुटबलको सर्वाधिक ठूलो प्रतियोगिता विश्वकपको यो संस्करणमा युवा खेलाडीको पनि राम्रो उपस्थिति छ ।विश्वकपको इतिहासमा सबैभन्दा कान्छा खेलाडी उत्तरी आयरल्याण्डका नर्मन ह्वाइटसाइड हुन् । सन् १९८२ मा युगोस्लाभियाविरुद्ध विश्वकप डेब्यु गर्दा जम्मा १७ वर्ष ४१ दिनका थिए ।

त्यसअघिसम्म विश्वकपको फाइनल चरण खेल्ने सबैभन्दा कान्छा खेलाडी पेले थिए । उनले सन् १९५८ को विश्वकपमा स्वीडेनविरुद्ध खेल्दा १७ वर्ष २४९ दिनका थिए । त्यसबेला ब्राजिलले उपाधि समेत जितेको थियो । र, यो विश्वकपमा सात जना टिनएजर खेलाडीले सहभागिता जनाउँदैछन् ।

१. कालियन एमबाप्पे–फ्रान्स

‘डोनाटेल्लो’ । फ्रेन्च भाषामा डोनाटेलोको अर्थ ‘भगवानको उपहार’ हो । कालियन एमबाप्पेलाई पेरिस सेन्ट जर्मेइन पीएसजीका खेलाडीले दिएको नाम हो यो । साच्चै नै युवा अवस्थामा नै उत्कृष्ट प्रदर्शन गर्न सफल एमबाप्पेलाई भगवनाले फुटबल खेल्नकै लागि यो धर्तीमा पठाएको जस्तो लाग्छ ।

१९ वर्षीय फ्रान्सेली युवकको बजार मूल्य यसअघि नै १८० मिलियन पाउण्ड पुगिसकेको छ, यसबाटै पनि प्रष्ट हुन्छ कि उनी कति क्षमतावान छन् भनेर ।
 
वर्तमान समयमा एमबाप्पे विश्व फुटबलमा सबैभन्दा धेरै माग भएका र रुचाइएका स्ट्राइकर मध्येका एक हुन् ।
 
यस सिजन लोनमा पीएसजीमा विताएका उनले ३९ खेलमा २१ गोल गरे । जुनियर लेभलमा च्याम्पियन्स लिग टिम अफ द सिजनको उपाधि जित्दा उनले युरोपियन गोल्डेन व्वाइको पुरस्कार पाइसकेका छन् ।
 
एमबाप्पेले फ्रान्सका लागि १४ खेल खेल्दा ३ गोल गरेका छन् । आफ्नो शानदार फिनिसिङ शैली र मैदानमा द्रुत गतिमा बल अघि बढाउनसक्ने क्षमताका कारण निश्चित रुपमा एमबाप्पे फ्रान्सका प्रतिस्पर्धीहरुका लागि टाउको दुखाइ बन्न सक्नेछन् ।

२. डेनियल अर्जानी–अष्ट्रेलिया

अष्ट्रेलियन फुटबलका युवा प्रतिभा हुन्, डेनियल अर्जानी । उनी क्रिष्टियानो रोनाल्डोको शैलीमा बलसँग द्रुत गतिमा दौडिएर मौका सिर्जन गर्न सक्ने क्षमता राख्छन् ।

फुटबल विश्लेषकहरुका अनुसार अब यो नाम विश्व फुटबलमा चर्चाको शिखरमा पुग्नेछ । एट्याकिङ मिडफिल्डरको भूमिकामा खेल्ने अर्जानीले अष्ट्रेलियाको सिनियर टिमका लागि जम्मा एक खेलमात्र खेलेका छन् । इरानी मुलका अर्जानीले अष्ट्रेलियाबाट खेल्ने निर्णय गरिसकेका छन् । यद्धपी उनले चाहेमा इरानबाट पनि खेल्न सक्नेछन् ।

३. फ्रान्सिस उजोहो– नाइजेरिया

नाइजेरियाका गोलकिपर उजोहो स्पेनिस ला लिगा खेल्ने सबैभन्दा कान्छा विदेशी खेलाडी हुन् । डिपोर्टिभो ला कोरुनाबाट गएको सिजनमा इबारविरुद्धको खेलमा प्रशिक्षक पेपे मेलले उनलाई पहिलो एघारमा नै मैदानमा उतारेपछि उजोहो सबैको नजरमा परेका थिए । त्यसबेला उनी १८ वर्ष ११ महिना १७ दिनका थिए ।

उनी अर्जेन्टिनाविरुद्धको मैत्रिपूर्ण खेलमा नाइजेरियाले ४–२ को जित निकाल्दा उनले दोस्रो हाफ खेलेका थिए । पहिलो हाफमा २–१ ले पछि रहेको नाइजेरियाले दोस्रो हाफमा ३ गोल ग¥यो ।

दोस्रो हाफमा मैदान प्रवेश गरेका उजोहोले अर्जेन्टिनाको उत्कृष्ट प्रहारहरु बचाएका थिए । विपक्षीको सशक्त प्रहारहरु बचाउने क्षमताका उनले पोल्याण्डविरुद्धको मैत्रिपूर्ण खेलमा देखाएका थिए । त्यस खेलमा पोल्याण्डको ६ वटा उत्कृष्ट सट बचाएका थिए ।

नाइजेरियाका प्रशिक्षक गेर्नट रोहरले विश्वकपमा उनी पहिलो एघारमा पर्न सक्ने सम्भावना प्रवल रहेको बताइसकेका छन् । पाँच अन्तर्राष्ट्रिय खेल खेलिसकेका उजोहोलाई प्रशिक्षक रोहरले नाइजेरिया टिमको ‘भविष्य’ भनेका छन् ।

४. जोसे लुइस रोद्रिगेज– पानामा

बेल्जियमको जेन्ट क्लबको यू–२१ खेलिरहेका यी १९ वर्षीय मिडफिल्डरका लागि यो विश्वकप सुनौलो मौका हुन सक्नेछ । उनले उत्तरी आयरल्याण्डविरुद्धको खेलमा पानामाका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । प्रशिक्षक हर्नान गामेजले उनलाई  यो विश्वकपको २३ सदस्यीय टिममा राखेका छन् ।

एनले गत मेमा यू–२१ खेलमा जेन्टका लागि ह्याट्रिक गरेका थिए, जुन बेला प्रशिक्षक गोमेज विश्वकपका लागि उत्कृष्ट खेलाडीको खोजीमा थिए । त्यसपछि उनलाई टिममा बोलाइएको थियो ।

५. ट्रेन्ट अलेक्सान्दर–आर्नोल्ड– इंग्ल्याण्ड

इंग्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटले रसिया विश्वकपका लागि २३–सदस्यीय टिमको घोषणा गर्दा अलेक्सान्दर आर्नोल्ड सबैभन्दा कान्छा खेलाडी बने ।

इंग्लिस क्लब लिभरपुलमा आबद्ध आर्नोल्डले विश्वकपको अभ्यास स्वरुप शुक्रबार भएको मैत्रिपूर्ण खेलमा इंग्ल्याण्डका लागि डेब्यु गरेका थिए ।

लिभरपुलका पूर्व प्रशिक्षक ब्रेण्डन रोजर्सको नजरमा परेपछि उनलाई सिनियर टिममा बोलाइएको थियो । यसै सिजन लिभरपुलमा आबद्ध भएका आर्नोल्डले तीन उत्कृष्ट गोल गरिसकेका छन् ।

१९ वर्षीय आर्नोल्ड द्रुत गतिमा कुद्न, उत्कृष्ट क्रस उपलब्ध गराउन र डिफेन्समा दृढता भएका खेलाडी हुन् । उनी फ्रिकिकमा पनि माहिर छन् ।

६. मोउसा वागे–सेनेगल

सन् २०१५ मा यू–२० विश्वकपमा सेनेगलले चौथो स्थान हासिल गर्दा वागे मुख्य सदस्य थिए । उनले अघिल्लो वर्ष मार्चमा नाइजेरियाविरुद्धको मैत्रिपूर्ण खेलमा डेब्यु गरेका थिए । बेल्जियन क्लब युपेनबाट १७ खेल खेलिसकेका छन् ।

दक्षिण अफ्रिकाविरुद्धको खेलमा कारा एमबोजीले खेलको अन्तिम समयमा गरेको निर्णायक गोलका लागि उनैले पास दिएका थिए । सेनेगल सिनियर टिमका लागि उनले ९ खेल खेलेका छन् ।

७. अच्राफ हाकिमी– मोरक्को

मोरक्कोले अन्तिम पटक सन् १९९८ मा विश्वप खेल्दा यी युवा स्टार जन्मिएका पनि थिएनन् । रियल मड्रिडमा डिफेन्डर डेनियल कार्भाहालको विकल्पका रुपमा आउन थालेका यी डिफेन्डरले आफ्नो देशमा पनि उत्तिकै प्रभावित पार्न थालेका छन् ।

स्पेनमा जन्मिएका उनले मोरक्कोका लागि नौ खेलमा एक गोल समेत गरिसकेका छन् । मोरक्कोको विश्वकप छनोट प्रतियोगितामा उनले एक गोल गरेका थिए भने ला लिगाको यो सिजनमा पनि २ गोल गरेका छन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया