बादी समुदायका लागि जग्गा खोज्दै नगरपालिका

 मंसिर १७, २०७५ सोमबार १३:४६:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

डोटी – नगर क्षेत्रभित्र रहेका बादी समुदायको व्यवस्थित बसोवास गर्ने उद्देश्यले दिपायल सिलगढी नगरपालिकाले जग्गाको खोजी गरिरहेको छ । नगरपालिका भित्र बसोवास गर्दै आएका तर आफ्नो घर जग्गा केही पनि नभएका भूमिहिन बादी समुदायका लागि जग्गा खरिद गरि घर बनाउने योजना  सुरु भैरहेको नगर प्रमुख मञ्जु मलासीले  बताउनु भयो । 

‘भूमिहिन बादी समुदायको व्यवस्थापन गर्नमा समस्या छ’ नगर प्रमुख मलासीले भन्नुभयो ‘उनीहरुको बसोबासलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा छलफल भैरहेको छ ।’ उहाँले नगरपालिकाले जमिन खरिद गरिदिने र नेपाल सरकारको जनता आवास कार्यक्रम  अन्तर्गत भवन निर्माण गर्ने गरी प्रयास भैरहेको जानकारी दिनुभयो । 

जमिन खरिद गर्नका लागि एक/दुई ठाउँमा जमिन हेरेर कुराकानी भैरहेको नगर प्रमुख मलासीले बताउनु भयो । ‘डोटीका बादी समुदायहरु दैनिक ज्यालादारी गरेर खान्छन्, त्यसैले सहर भन्दा टाढा राख्न पनि समस्या छ’ उहाँले भन्नुभयो ‘सहर नजिक जमिन धेरै महङ्गो  छ, खोजी कार्य गर्दै छौँ ।’ डोटीका बादी समुदायहरु दिपायल सिलगढी नगरपालिका–४ सेती प्राविधिक शिक्षालय नजिकै प्रति जमिनमा अस्थायी कटेरो बनाएर बस्दै आएका छन् । 

उचित आवासको व्यवस्थापन गर्नु पर्ने, बालबालिकाहरुलाई शिक्षाको व्यवस्था गर्नुपर्ने, जिविकोपार्जनका लागि सीपमुलक तालिमको व्यवस्था गरिनु पर्ने, बादी समुदायका अपाङ्गता भएका व्यक्तिहरुलाई बिशेष व्यवस्था गरिनु पर्ने माग गर्दै दिपायलका बादी समूदायहरुले नगरपालिकामा ज्ञापनपत्रसमेत पेश गरेका छन् । 

आफूहरु पुस्तौंदेखि मनोरञ्जनका लागि नाच्ने गाउने, मादल बनाउने, माटाका भाँडा बनाउनेजस्ता कार्यबाट जीवन निर्वाह गर्दै आएको तर समाज आधुनिकीकरणतिर जाँदा आफ्नो पेशा संकटमा परेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । डोटी जिल्लामा एक सय चार परिवार बादी समुदाय रहेका छन् । 
 

अन्तिम अपडेट: चैत २२, २०८०

तपाईको प्रतिक्रिया