रोल्पामा बन्दै अत्याधुनिक डम्पिङ साइड

 मंसिर १७, २०७५ सोमबार १४:२३:५० | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – शहरीकरणको मुख्य समस्याको रुपमा रहेको फोहोर व्यवस्थापन गर्नका लागि रोल्पा नगरपालिकाले सदरमुकाम लिबाङ नजिकै अत्याधुनिक डम्पिङ साइड निर्माण गर्न लागेको छ ।

लिबाङ बजारको फोहोरलाई मोहर बनाउने उद्देश्यले नगरपालिकाले गुरुङगाउँ नजिकैको जङ्गलमा डम्पिङ साइड निर्माण गर्न लागेको हो । उक्त डम्पिङ साइडमा गल्ने फाहोरबाट प्रशोधन गरेर मल उत्पादन गर्नुका साथै उक्त क्षेत्रमा बगैँचा निर्माण गरी पर्यटकीय क्षेत्र समेत बनाउने योजना रहेको नगरपालिकाले बताएको छ ।

त्यसका लागि अहिले नगरपालिकाले ५० लाख बजेट छुट्याई काम सुरु गरेको भए पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी भित्र्याउने आफूहरुको योजना रहेका नगर प्रमुख पूर्ण केसीले जानकारी दिनुभयो ।

फोहोर फाल्ने ठाउँ भनेपछि मान्छेले नराम्रो मात्र सोच्ने गरेको भएता पनि यस क्षेत्रलाई एउटा पर्यटकीय क्षेत्र बनाउने योजना अघि बढाइएपछि स्थानीय पनि हर्षित भएका छन् ।

‘अहिले तत्काललाई सडक विस्तार भएको छ’, स्थानीय मित्रलाल गुरुङले भन्नुभयो । स्थानीयको सहभागितामा अत्याधुनिक डम्पिङ साइड निर्माणले यहाँका स्थानीयलाई रोजगारी समेत प्रदान गर्नुका साथै यहाँ सञ्चालित गुरुङगाउँ होम स्टेलाई समेत प्रवर्द्धन गर्न सकिने भएको छ ।

आधुनिक शहर उन्मुख रोल्पा नगरपालिकाले अघि सारेको यो योजनालाई प्रदेश र संघीय सरकारले पनि सहयोग गरेमा साच्चै नै यो कार्य यस क्षेत्रकै नमुना बन्ने भएको छ ।
 

अन्तिम अपडेट: चैत ७, २०८०

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया