भारतले सन् २०२२ मा जी–ट्वान्टी शिखर सम्मेलनको आयोजना गर्ने

 मंसिर १७, २०७५ सोमबार १५:२९:५२ | रासस
unn.prixa.net

भारतले आफ्नो ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा सन् २०२२ को जी–ट्वान्टी शिखर सम्मेलनको आयोजना गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीले बताउनुभएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले अर्जेन्टिनामा भएको घोषणा जी–ट्वान्टी शिखर सम्मेलनको तेस्रो दिनको समापन समारोहमा घोषणा गर्नुभएको हो । खासगरी उक्त सम्मेलनका लागि भारतको पालो सन् २०२१ मा पर्ने भए पनि एक वर्षपछि आफ्नो ७५ औँ स्वतन्त्रता दिवस परेकोले उक्त निर्णय लिएको हो ।

भारतको पालोमा इटालीले सम्मेलन गर्न सहमति जनाएको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले इटालीप्रति कृतज्ञता जनाउनु भएको छ । प्रधानमन्त्री मोदीले आफ्नो ट्वीटर एकाउन्टमा उल्लेख गर्नुभएको छ, 'सन् २०२२ मा भारतको ७५ औँ स्वतन्त्रता दिवस परेकोले इटालीलाई सन् २०२२ को सट्टा सन् २०२१ मा जी–ट्वान्टी सम्मेलनको आयोजना गर्न अनुरोध गरिएको र इटाली लगायत सदस्य राष्ट्रहरूले भारतको आग्रहलाई स्वीकार गरेका छन् । यसका लागि भारत आभार प्रकट गर्दै सबै विश्व नेतालाई सन् २०२२ मा भारत आउन निमन्त्रणा दिन चाहन्छु ।'

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभिस कुमारले पनि ट्वीटरमार्फत भारतले सन् २०२२ मा जी–ट्वान्टी शिखर सम्मेलनको आयोजना गर्ने भएको पुष्टि गर्नुभयो । जी–ट्वान्टी सम्मेलन विश्वका उदाउँदा अर्थतन्त्रलाई एक ठाउँमा जम्मा गर्ने अन्तर्राष्ट्रिय फोरम हो ।

जी–ट्वान्टीका सदस्य राष्ट्रहरूसँग विश्वको ८५ प्रतिशत अर्थतन्त्र रहेको छ भने विश्वको दुई तिहाइ जनसङ्ख्या रहेको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया