पाखापखेरीमै स्वर्ग रच्दै इन्द्र : कृषि कर्मबाटै मनग्य आम्दानी

 मंसिर १८, २०७५ मंगलबार १०:२०:१६ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ– बेसीशहर नगरपालिका–१, पौडेलगाउँ सिमलडाँडाका इन्द्रबहादुर खड्का २०७० सालमा विदेश जानुभयो । साउदीमा २ वर्ष बिताउनुभयो । परदेशमा पनि उहाँलाई भाग्यले साथ दियो । उहाँले दुःख गरे अनुसार राम्रै कमाइ गर्नुभयो । 

परिवारको सुख खोज्दै उहाँ साउदी जानुभएको हो । ‘विदेशमा श्रमको मूल्य हुने रहेछ । जति धेरै काम उति धेरै आम्दानी । सबैलाई विदेशमा यस्तो नहुन सक्छ । तर मेरो दुःख गरेअनुसारको आम्दानी राम्रै थियो । परदेशमा भाग्यले साथ नै दियो,’ उहाँले आफ्नो विदेश बसाइबारे जानकारी गराउनुभयो ।  

परदेशमा रमेन मन   

सात समुद्रपारीको संसारमा उहाँले पैसा त कमाउनुभयो । तर परदेशमा मन भने रम्न सकेन, उहाँको । परदेशको चर्को घाममा खटिनुपर्ने उहाँलाई गाउँघरको शितल वरपीपलको छायाँले सतायो । परदेशमा उहाँलाइ गाउँ, समाज, परिवारको मायाले बारबार सतायो । 

‘आफ्नो गाउँघर स्वर्ग नै हो । विदेशमा रहँदा गाउँघरको मायाले निकै सताउँदो रहेछ,’ उहाँले भन्नुभयो  । परिवार, आफन्त, साथीभाई र गाउँघरको माया मनमुटु, मष्तिष्कमा सजाउँदै उहाँ विदेशलाई सदाका लागि छोड्दै स्वदेश फकर्नुभयो । 

फाप्यो कुखुरापालन

परदेशमा गरेको दुःख, बगाएको पसिनाले श्रम गर्नुपर्छ । उद्यम गर्नुपर्छ भन्ने मिठो पाठ सिकायो उहाँलाई । घर फर्केपछि ‘स्वदेशमै केही व्यावसायिक काम गर्नुपर्छ’ भन्ने कुराले उहाँको मनमा डेरा जमायो । ‘विदेशमा औधी दुःख हुने । त्यो दुःख देशकै माटोमा गर्न सके पैशाका दुःख हुदैन भन्ने सोँचे र सुरुमै कुुखुरापालन गर्न थालेँ,’ इन्द्रंले भन्नुभयो । 

उहाँले विदेशमा कमाएको पैसा खर्चेर कुखुराको आधुनिक खोर निर्माण गर्नुभयो । परिवारकै सल्लाहमा सुरुमै ४ सय ब्रोईलर कुखुरा पाल्न थाल्नुभयो । कुखुरापालन व्यवसाय पनि फाप्यो उहाँलाई । यस व्यवसायबाट राम्रै पैसा कमाउन सफल हुनुभयो, इन्द्रबहादुर । 

कुखुरापालन व्यवसायवाट राम्रै आम्दानी गरिरहुनभएका इन्द्रले कुखुरासँगै तरकारी खेतीलाई पनि एकसाथ अघि बढाउने योजना बुन्नुभयो । 

१३ रोपनी जग्गामा तरकारी खेती

आफ्नो योजना श्रीमती प्रतिमा खड्कालाई सुनाउनुभयो । त्यसपछि, उनीहरुले घर नजिकैको आफ्नो एक रोपनी पाखो जमिन फाँडेर २ वटा टनेल निर्माण गरिहाले । 

टनेलमा गोलभेँडा लगाए । गोलभेँडा राम्रो फल्यो । टनेलमा उत्पादित गोलभेँडा बिक्रीबाट पनि राम्रो आम्दानी हात पर्यो । ‘टनेलवाट गोलभेँडा राम्रो उत्पादन भयो । बजारबाट गोलभेँडाको माग पनि बढ्न थाल्यो । बजार भाउ पनि राम्रो पाइयो,’ प्रतिमाले भन्नुभयो ।

तरकारी खेतीबाटै मनग्य कमाई हुन थालेपछि खड्का दम्पत्तीले तरकारी खेती विस्तार गरेका छन् । उनीहरुले अहिले १३ रोपनी पाखो जमिनमा तरकारी फलाएका छन् । ४ वटा टनेल निर्माण गरेका छन् । २ वटा टनेलमा गोलभेँडा फलाएका छन् । उहाँको टनेलमा सिर्जना जातको गोलभेँडा लगाउनुभएको छ । २ टनेलमा गोलभेँडा लगाउँदै छन् । 

‘२ वटा टनेलमा लगाईएको गोलभेँडा बेचेसकियो । अब बाँकी २ वटा टनेलमा फेरी गोलभेँडा लगाउँदैछौँ,’ ईन्द्रबहादुरले भन्नुभयो ।   अहिले उहाँले बारी, टनेलमा गोलभेँडासंगै साग, मुला, काउली, धनियाँ लगायतका तरकारी फलाउनुभएको छ । उत्पादित तरकारी नजिकैको बजार उदीपुरमा बेच्दै आउनुभएको छ । इन्द्रले कुखुरा र तरकारी बिक्रीबाट वार्षिक ७ लाख बढि आम्दानी गर्दै आउनुभएको छ । 

विदेशी लाख होइन स्वदेशकै काख प्यारो

इन्द्रले आधुनिक तवरबाट कृषि कर्म गर्नुभएको छ । उहाँले बारी पावर ट्रयाक्टरबाटै खनजोत गर्नुहुन्छ । आफ्नो कृषि कर्म देखेर गाउँका अरुले पनि कृषि पेशा अँगालेकोमा उहाँलाई गर्व महसुस हुन्छ । 

‘कोही दाजुभाई कृषि व्यवसाय संचालनका लागि भन्दै सल्लाह लिन आउँछन् । आफ्नो सिको गरी अरुले पनि कृषि कर्म गरेको देख्दा असाध्यै खुशी लाग्छ । उनीहरुलाई आफुले जाने बुझेको कुरा बताईदिन्छु,’ ईन्द्रले मुस्कुराउँदै भन्नुभयो ।   

गाउँघरकै माटोमा श्रम–पसिना बगाउन सके नाना, छाना र मानाका लागि परदेश भौतारिन नपर्ने उहाँ बताउनुहुन्छ । ‘युवाहरुले विदेशी लाखभन्दा स्वदेशी काख प्यारो हो भन्ने बुझ्नु पर्दछ । देशकै माटोमा सकेको केही उद्यम गर्नुपर्छ । उद्यम गर्न खोज्ने युवालाई राज्यले सघाउनुपर्छ,’ उहाँले भन्नुभयो ।     
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया