यात्रुबाट दोब्बर भाडा लिँदै डोटीका जीप चालक

 मंसिर १८, २०७५ मंगलबार ११:१७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

डोटी – जिल्लामा सञ्चालित जीपमा पछाडि थपिएका सिटहरु ट्राफिक प्रहरीले हटाएसँगै यात्रुलाई सास्ती भएको छ । ट्राफिक प्रहरीले बोलेरो जीपको पछाडिको सिट हटाएपछि जीप चालकहरुले भाडा बढाएका हुन् ।
  
सवारी साधन सञ्चालकहरुले नियमविपरित जीपका पछाडि सिट थपेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जिल्लामा चल्ने दुई दर्जनभन्दा बढी जीपहरुको पछाडिका सिटहरु हटाएका हो । यसअघि बोलेरो जीपहरुले १५ जनासम्म यात्रु बोक्ने गरेका थिए । 

एउटा जीपमा चालकसहित ५ जना मात्र यात्रु बोक्नुपर्ने भएकोले आवतजावत गर्नको लागि सवारीसाधन पाउनै मुस्किल भएको केआईसिंह गाउपालिका  ५ का स्थानीय जयराज जोशीले बताउनु भयो । मुख्य ठाउँबाट सवारी साधन प्याक भएर आउने गरेकोले अन्य ठाउँमा चालकहरुले जीप नरोक्ने भएकोले निकै समस्या भएको स्थानीयको गुनासो छ । 

डोटीका ग्रामिण क्षेत्रका सडकमा बढी महेन्द्रा बोलेरो जीपहरु चल्दै आएका छन् । डोटीका सहायक प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेललले जीप चालकले तोकिएको भन्दा बढी भाडा लिन नहुने तथा लिइएको पाइए कारबाही हुने बताउनुभयो । उहाँले भन्नुभयो ‘जीप चालकले बढी भाडा लिएको भनेर कोही प्रमाणसहित कोही आएमा हामी बढी भाडा लिने चालकलाई कारबाही गर्छौँ ।’

सवारी दुर्घटनालाई कम गर्नका लागि आफूखुसी सवारी धनीले पछि थपेका सीट हटाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख तथा ट्राफिक प्रहरी नायव निरीक्षक रुपसिंह थापाले बताउनुभयो । ‘हाम्रो उदेश्य सवारी दुर्घटना घटाउनु हो, यात्रुलाई दुःख दिने होइन, उहाँले भन्नुभयो । 


 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया