विवादास्पद एसिया प्यासिफिक समिटमा सहभागी भएर सरकारले विश्वसामु नेपालको विश्वास टुटायो : पूर्वमन्त्री बिश्वकर्मा

 मंसिर १८, २०७५ मंगलबार १५:१५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री मीन बिश्वकर्माले विवादास्पद युनिभर्सल पिस फेडेरेशन (यूपीएफ) ले आयोजना गरेको कार्यक्रममा सरकार आफै सहभागी भएकोमा आपत्ति जनाउनु भएको छ ।

कांग्रेस नेता विश्वकर्माले विवादित संस्था यूपीएफले आयोजना गरेको एसिया प्यासिफिक समिटमा प्रधानमन्त्री केपी ओली आफैं सहभागी भएबाट नेपाल सरकार विश्वमै दृष्टिकोणविहीन सरकारको रुपमा परिचित भएको दाबी समेत गर्नुभयो ।

यूपिएफ जस्तो कर छलीलगायतका आरोपमा फसेको संस्थालाई नेपालमा कार्यक्रम गर्न लगाएर सरकारले दुई छिमेकी देश भारत र चीन तथा विश्वका कूटनीतिक महत्व राख्ने विभिन्न देशहरुको नेपालप्रतिको विश्वासलाई समेत टुटाएको कांग्रेस नेता विश्वकर्माको तर्क छ ।

राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले पनि क्रिष्चियन धर्मको कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री केपी ओलीले गल्ती गरेको दाबी गर्नुभयो । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले धर्म निरपेक्ष राष्ट्रको सरकार कुनै एउटा धर्मको प्रचारमा सहभागी हुनु, खर्च गर्नु संविधान विरोधी काम भएको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर राणाले क्रिष्चियन धर्म प्रचार संस्थाले आयोजना गरेको कार्यक्रममा राज्य संयन्त्रको परिचालन हुनु आपत्तिजनक रहेको बताउनुभयो । उहाँले यो घटनाले देशमा जातीय द्धन्द्ध निम्तन सक्ने तर्फ पनि सचेत गराउनुभयो । प्रधानमन्त्री ओली सो कार्यक्रममा सहभागी भएकोमा अध्यक्ष राणाको आक्रोश छ ।

अध्यक्ष राणाले द्वन्द्वको चपेटाबाट भर्खरै मुक्त भएको देशमा पुन जातीय द्धन्द्ध ल्याउने गरी सरकार एसिया प्यासिफिल समिटमा सहभागी भएको पनि बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया