खाद्य संस्थानमा धान बिक्रीका लागि किसानको लाम

 मंसिर १८, २०७५ मंगलबार १६:३२:५ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेपाल खाद्य संस्थान नेपालगञ्जमा धान बिक्रीका लागि किसानको लाम लागेको छ ।

संस्थानको नेपालगञ्जस्थित कार्यालयमा दर्जनौं लडिया र ट्याक्टरमा धान लिएर किसानहरु बिक्री गर्न पुगेका छन् । एकसाथ धेरै किसानहरु धान बिक्रीका लागि आएका कारण  पालो नपाउँदा दोश्रो दिनसम्म कुर्नुपरेको संस्थानले जनाएको छ ।

संस्थानले मंसिर १० गतेदेखि धान खरिद कार्य सुरु गरेको भए पनि एकसातापछि किसानको भीड बढेको संस्थानका प्रमुख हरिप्रसाद जोशीले जानकारी दिनुभयो । संस्थानले मोटा धान प्रति क्विन्टल दुई हजार ३ सय ३१ रुपैयाँ २२ पैसा र मध्यम धान प्रति क्विन्टल दुई हजार ४ सय ६० रुपैयाँ ५७ पैसामा खरिद गरिरहेको छ ।

संस्थानको नेपालगञ्जस्थित कार्यालयले किसानबाट २५ हजार क्विन्टल धान खरिदको कोटा प्राप्त गरेको छ । अहिलेसम्म झण्डै तीन हजार क्विन्टल धान खरिद भइसकेको संस्थानका प्रमुख जोशीले जानकारी दिनुभयो ।

संस्थानले ढिलो गरी धान खरिद थालेका कारण आफूहरुले धेरै धान निजी व्यवसायीलाई बिक्री गरिसकेको किसानहरुले गुनासो गरेका छन् । दसैँ लगत्तै धान खरिद कार्य सुरु भएमा आफूहरुले उचित मूल्य पाउने किसानहरुले बताएका छन् । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया