राष्ट्रिय सरोकार तथा समन्वय समितिले भन्यो : ६० दिनभित्र मेलम्चीको पानी काठमाडौं आउँदैन

 मंसिर १८, २०७५ मंगलबार १७:२५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – खानेपानी मन्त्री र खानेपानी सचिवले भने जस्तो ६० दिनभित्र मेलम्चीको पानी काठमाडौंमा नआउने राष्ट्रिय सरोकार तथा समन्वय समितिले जनाएको छ ।

प्रतिनिधिसभा अन्र्तगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले मेलम्ची खानेपानी आयोजना निर्माणस्थल सुन्दरीजलकोे स्थलगत अनुगमन गरी तत्काल मेलम्चीको पानी काठमाडौं आउने सम्भावना नरहेको ठहर गरेको हो ।

सतही व्याख्या र अनुमानभन्दा निर्माण प्रक्रिया भिन्न भएको भन्दै समितिले स्थलगत अध्ययनको क्रममा तत्काल मेलम्चीको पानी काठमाडौं आउने सम्भावना नदेखिएको प्रतिक्रिया दिएको छ ।

गएको आइतबार बसेको विकास तथा प्रविधि समितिको बैठकमा खानेपानी सचिव गजेन्द्रकुमार ठाकुरले ६० दिनभित्र मेलम्चीको पानी काठमाडौं आउने दाबी गर्नुभएको थियो । उहाँले ६० दिनभित्र सबै प्राविधिक काम सकेर मेलम्चीको पानी टनेलमा हाल्ने र त्यसको ६ दिनभित्र काठमाडौंको घरघरमा पानी पु¥याउने दाबी गर्नुभएको थियो ।

त्यसैगरी २०७४ चैत ८ गते काठमाडौंमा आयोजित कार्यक्रममा खानेपानी तथा सरसफाई मन्त्री विना मगरले दसैँ अगाडि नै मेलम्चीको पानी काठमाडौं आउने ठोकुवा गर्नुभएको थियो ।

मन्त्री र सचिवले आ–आफ्ना मिति घोषणा गरे पनि आयोजना निर्माणको यथास्थित भने भिन्न रहेको समितिको जनाएको छ । साच्चै मन्त्री र सचिवको अभिव्यक्ति अनुसार ६० दिनभित्र मेलम्चीको पानी काठमाडौं आउने अवस्था नभएको समितिले स्पष्ट पारेको छ ।

अनुगमनका क्रममा अझै पनि २ किलोमिटर सुरुङको फाइनल फिनिसिङ, २ वटा भेन्टिलेसन साइट निर्माण, ९ वटा हाइड्रोमेकानिक जडान, २ सय ४० मिटर सुुन्दरीजल सप्लाई पाईप जडान, र  एक सय वटा विभिन्न किसिमका उपकरण जडानलगायतका काम बाँकी नै छ ।

बाँकी रहेको काम कम्तीमा २०७५ चैतसम्ममा सक्ने लक्ष आयोजनाले लिएको छ । मेलम्ची खानेपानी आयोजना निर्धारित समयमा सम्पन्न हुन नसक्दा पटक–पटक समय थप हुँदै आएको छ ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया