फ्रान्स : इन्धनमा लगाइएको कर तत्कालका लागि फिर्ता

 मंसिर १८, २०७५ मंगलबार २०:२७:५ | रासस
unn.prixa.net

इन्धनमा भएकाे करवृद्धिकाे विरुद्धमा भएकाे प्रदर्शनकाे फाइल तस्बिर

फ्रान्समा इन्धनमा लगाइएको करवृद्धि तत्कालका लागि फिर्ता गरिएको फ्रान्सका प्रधानमन्त्री इडवार्ड फिलिपले बताउनुभएको छ ।

फ्रान्समा इन्धनमा करवृद्धि गरेको भनी विगत दुई हप्तादेखि पहेलो पहिरनधारी सवारी साधन धनीहरूले गरेमा प्रदर्शनले हिंसात्मक रूप लिन थालेपछि सरकारले आगामी ६ महिनाका लागि करवृद्धि फिर्ता लिने निर्णय लिएको हो ।

इन्धनमा बढाएको करका कारण देशको एकता खतरामा पार्न सक्दैन, प्रधानमन्त्री फिलिपले टेलिभिजनमार्फत गरेको सम्बोधनमा बताउनुभयो । उहाँले थप्नुभयो, ‘इन्धनमा गरेको मूल्यवृद्धिको विरोधले सडकमा गम्भीर समस्या उब्जाएको छ र कसैको स्वार्थका लागि भएको प्रदर्शनले नागरिकहरूको स–सम्मान बाँच्न र हिँड्डुल गर्न पाउने अधिकारलाई अन्यायपूर्ण रूपमा बञ्चित गरेको देखियो, तत्कालका लागि निर्णय स्थगित भएको जानकारी यसै सम्बोधनमार्फत गराउन चाहन्छु ।’

उहाँले थप्नुभयो, ‘आगामी दिनमा गरिने आन्दोलनलाई पहिल्यै घोषणा गर्ने र प्रदर्शनलाई मर्यादित तथा शान्तिपूर्ण बनाउन प्रदर्शनकारीलाई आग्रह गरिन्छ ।’
दक्षिणी फ्रान्सको अर्लिसमा सरकारविरोधी प्रदर्शनका क्रममा १० किलोमिटर सडक अवरूद्ध गर्ने क्रममा एउटा भ्यान र ट्रक एक आपसमा ठक्कर खाँदा भ्यानका चालकको मृत्यु भएको थियो भने सरकार विरोधी आन्दोलनमा २ सय ६३ जना घाइते बनेका थिए ।

अर्जेन्टिनामा भएको जी–ट्वान्टी सम्मेलनमा सहभागी भै आइतबार स्वदेश फर्किनुभएका म्याक्रोनले प्रधानमन्त्री, गृहमन्त्री, तथा उच्च अधिकारीलाई बोलाई समस्याबारे जानकारी लिनुभएको थियो ।

राष्ट्रपतिले आफूलाई हिंसा कदापि मान्य नहुने बताउनुभएको थियो । राष्ट्रपतिले दुई दिन पहिले अर्जेन्टिनामा पत्रकारसँगको कुराकानीमा कुनै पनि कारणले सरकारी अधिकारी, पत्रकार र व्यवसायीमाथिको आक्रमणलाई पुष्टि गर्न नसक्ने बताउनुभएको थियो । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया