म्यानचेस्टर सिटीले दास्राे स्थानकाे लिभरपुलसँग अंक दूरी बढायाे

 मंसिर १९, २०७५ बुधबार ७:४:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा वाट्फोर्डलाई हराउँदै म्यानचेस्टर सिटीले शीर्ष स्थानको पकड बलियो बनाएको छ । 

मंगलबार राति भएको खेलमा सिटीले वाट्फोर्डलाई २–१ ले हराउँदै दोस्रो स्थानको लिभरपुुलविरुद्धको अग्रता ५ अंकमा लम्ब्यायो । वाट्फोर्डको मैदानमा भएको खेलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीलाई जित दिलाउनका लागि लेरोई साने र रियाद मेहरेजले एक एक गोल गरे । 

४०औं मिनेटमा मेहरेजको क्रसमा सानेले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ५१औं मिनेटमा ग्याब्रियल जेससको पासमा मेहरेजले गोल गर्दै सिटीको अग्रता २–० मा लम्ब्याएका थिए । 

खेल सकिन पाँच मिनेट बाँकी रहँदा वाट्फोर्डले गोल फर्कायो । अब्दोलायले गोल लाइनमा ठूलो संघर्ष गर्दै बललाई जालीको दिशा दिए । बाँकी समयमा वार्टफोर्डले गोल गर्न नसकसेपछि सिटी विजयी भयो । सिटीले १५ खेलबाट ४१ अंक बनाएको छ । उसले लिभरपुलसँगको दूरी ५ अंक कायम राखेको छ । वाट्फोर्ड भने २० अंक सहित एघारौं स्थानमा छ । 

प्रिमियर लिग अन्तर्गत गएराती भएका अन्य खेलमा एएफसी बर्नमाउथले हठर्सफिल्ड टाउनलाई २–१ ले हरायो भने ब्राइटनले क्रिष्टल प्यालेसमाथि ३–१ को जित दर्ता गर्‍याे । यस्तै वेष्टह्यामले कार्डिफ सिटीलाई ३–१ ले पराजित गर्‍यो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया