मलेसियामा ज्यान गुमाएका युवाको शव नेपाल झिकाइदिन अनुराेध

 जेठ ३०, २०७५ बुधबार १०:४६:३३ | रासस
unn.prixa.net

पर्वत – आफ्नै साथीहरुको कुटपिटबाट मलेसियामा ज्यान गुमाएका पर्वतका किशोर केसी (नसिब) को तीन हप्ता बितिसक्दा पनि शव नेपाल आउन सकेको छैन । 

लामो समयसम्म पनि शव नेपाल आइनपुगेपछि परिवारले छोराको शव नेपाल झिकाइदिन अपिल गरेका छन् । पर्वतको मोदी गाउँपालिका ५ बाजुङ धमिलपानी गाउँका २२ वर्षीय किशोरको शव मृत्यु भएको १५ दिनसम्म पनि नआएपछि मृतकका बुबा भीमबहादुर केसीले छोराको शव नेपाल झिकाइदिन आग्रह गर्नुभएको हो । 

घरको आर्थिक अवस्था कमजोर भएका कारण पनि आफूहरुलाई विभिन्न निकायमा पुगेर ताकेता गर्न समस्या भएको भन्दै मृतक नशिवको परिवार शव नेपाल झिकाउन विभिन्न संघ संस्थामा धाइरहेको उहाँले गुनासो गर्नुभयो । रोजगारीका लागि मलेसिया पुगेका नशिवमाथि नेपाली साथीभाइले कुटपिट गरेका थिए । पेटमा फलामे रड घोचिएपछि उपचारको क्रममा उनको गत जेठ १५ गते मलेसियाकै एक अस्पतालमा निधन भएको थियो । 

रोजगारीका लागि मलेसिया पुगेका चार जना नेपाली युवाले नशिवमाथि जेठ ६ गते आक्रमण गरेका थिए । नशिवको शव एक हप्तामै नेपाल आइपुग्ने भनिएको भए पनि अझैसम्म शव नआउँदा उनको परिवार हरेक दिन उनकै शोक र मृत शरीरको प्रतीक्षामा रहेको छ । 

२० महिनाअघि रोजागरीका लागि मलेसिया पुगेका क्षेत्री परिवारका कान्छा सन्तान हुन् । उनी अविवाहित थिए । उनको मृत्युको खबर सुनेपछि आमादेवी क्षेत्री अर्धचेत अवस्थामा हुनुहुन्छ। 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया