मध्यपहाडी लोकमार्गको अछाम सडकखण्डको काम अन्तिम चरणमा

३६ किलोमिटर कालोपत्रे सकियो

 मंसिर १९, २०७५ बुधबार १३:३३:१ | चन्द्र थापा
unn.prixa.net

अछाम – पाँचथरको चियो भञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म १ हजार ७ सय ६५ किलोमिटर लम्बाई रहेको पुष्पलाल (मध्यपहाडी) लोकमार्ग सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगि बढाइरहेको छ । देशको समृद्धिको एक आधारको रुपमा हेरिएको र नेपालको मध्य पहाडै पहाड चिरेर निर्माण भैरहेको यो आयोजनाको अछाम खण्डमा उत्साहजनक काम भैरहेको छ ।

आयोजनाको ६० किलोमिटर सडक अछाममा पर्दछ । जस मध्ये ३६ किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको छ । चारवटा टुक्रामा विभाजन गरि काम भइरहेको अछाम खण्डमा मंगलसैनदेखि ठाँटीखादसम्मको १७ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । शर्मा/चन्द्रा एण्ड बसन्त/दिवा जेभीले काम गरिरहेको यस खण्डमा मंगलसैन बजार नजिक १२० मिटर आरसीसी गर्न मात्रै बाँकी रहेको आयोजनाको पश्चिम खण्ड दाङका इञ्जिनियर तुलाराम शर्माले बताउनुभयो । 

यस्तै बेलखेतदेखि विनायकको १५ किलोमिटर मध्ये ८ किलोमिटर कालोपत्रे सम्पन्न भइसकेको छ भने कैलाशखोला–बयालपाटा खण्डमा ११ किलोमिटर मध्ये ८ किलोमिटर सम्पन्न भइसकेको छ । यहाँ मंसिरभित्रै कालोपत्रे सम्पन्न भइसक्ने इञ्जिनियर शर्माले बताउनुभयो । विनायक ठाँटीखाँद खण्डको १७ किलोमिटर ४ किलोमिटर कालोपत्रे सकिएको छ भने बाँकी १३ किलोमिटरमा काम भइरहेको छ । यो खण्डमा भौगोलिक रुपमा कठिनाई भएकोले केही असहजता भए पनि सबै संरचनाहरु तयार भइसकेकोले वैशाखभित्रै काम सम्पन्न भइसक्ने बताइएको छ ।

गुणस्तरको सन्दर्भमा ३ वर्षदेखि बनेका सबै संरचनाहरुमा कुनै समस्या नआएको भन्दै इञ्जिनियर शर्माले भन्नुभयो “तोकिएको मापदण्डमै काम भइरहेकोले खुसी छाैँ ।” भुक्तानिको सन्दर्भमा पनि अछामको ठाँटीखाँद मंगलसेन खण्डमा ९० प्रतिशत भुक्तानि भएको र अन्य ३ वटै प्याकेजमा ८२ प्रतिशतभन्दा बढी भुक्तानी भइसकेको आयोजनाको तथ्यांक छ ।

आयोजनाका लागि ४ वटै खण्डमा गरी कुल एक अरब १७ करोडमा २०७३ वैशाख १६ गते सम्झौता भइ काम सुरु भएको थियो । २०७६ वैशाख १६ सम्म कालोपत्रे सक्ने लक्ष रहेको यो आयोजनाको अछाम खण्डमा विनायक–ठाँटीखाँद बाहेक अरु ३ वटा प्याकेजमा निर्धारित समयभन्दा धेरै अगाडि काम सम्पन्न भइसक्ने इञ्जिनियर शर्माले जानकारी दिनुभयो ।

१७ किलोमिटर रहेको ठाँटिखाँद–मंगलसेन खण्डमा भ्याटसहित ३३ करोड लागतमा शर्मा/चन्द्रा एण्ड बसन्त/दिवा जेभीले काम गरिरहेको छ भने १७ किलोमिटरकै विनायक–ठाँटीखाँद खण्डमा ३३ करोड लागतमै अनक/लुम्बिनी/राजेन्द्र जेभीले काम गरिरहेको छ । यस्तै बेल्खेत – विनायकको १५ किलोमिटर खण्ड २९ करोड लागतमा गंगोत्री/ओसिस जेभीले काम गरिरहेको छ भने ११ किलोमिटरको कैलाश खोला–बयालपाटा खण्डमा लामा/पीएस जेभीले २२ करोडमा लागतमा काम गरिरहेको छ ।

आफ्नो कम्पनीले जिम्मा लिएको काम मापदण्ड अनुसार ८/९ महिना अगाडि नै सम्पन्न गरेको र अब एक डेढ महिनाभित्रै आयोजनालाई हस्तान्तरण गरिने ठाँटीखाँद मंगलसेन खण्डको जिम्मा पाएको चन्द्रा एण्ड बसन्त कन्स्ट्रक्सन प्रालिका प्रमुख गणेश चन्दले बताउनुभयो ।

कामको दौरानमा जिल्लाको सरकारी निकाय, स्थानीय तह र सर्वसाधारण सरोकारवालाको सकारात्मक सहयोग मिलेको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो । सम्झौता अनुसार काम सम्पन्न गरेर एक डेढ महिना भित्रै मध्यपहाडी आयोजनालाई सडक हस्तान्तरण गरिने र थप एक वर्ष सडकको रेखदेख तथा मर्मत गर्नुपर्ने सम्झौता भएकाले कम्पनीको एउटा टोली फिल्डमै बस्ने उनले जानकारी दिनुभयो ।

सडक कालोपत्रे भएपछि आर्थिक गतिविधि बढ्ने, तराईका जिल्ला जोड्नका लागि छोटो रुट हुनेलगायतका सुविधाका कारण स्थानीयहरु लोकमार्ग कालोपत्रेको व्यग्र प्रतिक्षामा छन् । यहाँको स्थानीय उत्पादन र व्यापार प्रवर्द्धन तथा पर्यटन विकासका लागि पनी मध्यपहाडी सडक महत्वपूर्ण हुने भन्दै स्थानीय हर्षित छन् ।

अन्तिम अपडेट: चैत १३, २०८०

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया