निर्मलालाई न्यायका लागि दिउँसै टर्च बालेर प्रशासन कार्यालयमा धर्ना

 मंसिर १९, २०७५ बुधबार १४:०:७ | दुर्गा उपाध्याय

कञ्चनपुर – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनाको दोषी पत्ता नलागेपछि निर्मलाका न्यायका लागि दबाब दिँदै आएको नागरिक संघर्ष समितिले न्याय हराएको भन्दै टर्च बालेर सांकेतिक प्रदर्शन गरेको छ । 

घटनाको चार महिना बितिसक्दा पनि वास्तविक दोषी पत्ता नलागेपछि सरकारलाई दबाब दिन दोहोरो आन्दोलन थालेको संघर्ष समितिले बुधबार हराएको न्याय खोज्न भन्दै टर्च बालेर सांकेतिक प्रदर्शन गरेको हो । 

अधिकारकर्मी सहितको संघर्ष समितिले बुधबार जिल्ला प्रशासनको हाताभित्र नाराजुस गर्दै टर्च बालेर सांकेतिक प्रदर्शन गरेका हुन् । उनीहरुले देशमा न्याय हराएको भन्दै आफूहरुले टर्च बालेर न्याय जोख्ने प्रयास गरेको बताएका छन् । 

यसअघि, नागरिक संघर्ष समितिले सोमबार र मंगलबार ११ बजेदेखि ४ बजेसम्म जिल्ला प्रशासन कार्यालयको गेटमा कालो पट्टी बाधेर विरोध जनाएका थिए । तर, बुधबार भने संघर्ष समितिले प्रशासनको मूल गेटमै बसेर टर्च बालेर विरोध प्रदर्शन गरेका छन् । 

उनीहरुले निर्मला जस्ता छोरीको सुरक्षाको ग्यारेन्टी गर्न सरकारसँग माग गरेका छन् । 

संघर्ष समितिले दबाबमूलक आन्दोलनसँगै पीडित परिवारले सुरु गरेको अनिश्चितकालीन धर्नामा पनि ऐक्यबद्धता जनाउदै आएको छ । सरकारले आफूहरुको आन्दोलनलाई बेवास्ता गरे पुनः छलफल गरी आन्दोलनका थप कार्यक्रम तय गरिने अधिकारकर्मी शारदा चन्दले बताउनुभयो ।

अन्तिम अपडेट: चैत ३, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया